गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह

Advertisement

काठमाडौं । बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् ।

यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना गर्दै भत्काइएको वार आफैँ निर्माण गर्ने जनाएका छन् । स्थानीयवासीले सडक फराकिलो बनाउन पनि माग गर्दै आएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि बाटोको टुङ्गो लगाउने आश्वासन दिइसकेका छन् । बाटो फराकिलो बनाउँदा रङ्गशालातर्फको भागबाट केही बढी छाड्नुपर्ने स्थानीयवासीको माग छ ।

प्रमुख दाहालले रोकिएको काम तत्काल शुरु गर्नका लागि गृहकार्य अघि बढाइएको बताए। स्थानीयवासीको माग सम्बोधन भएको भन्दै उनले यस गौरवको आयोजना सम्पन्न गर्न सबैको सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छन् ।

रङ्गशाला निर्माण सहयोग समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रोकिएको काम अघि बढाउन पहल गरिएको बताउँछन् । जिल्लाका विभिन्न स्थानीय तह र सङ्घ संस्थामा रहेका नेतृत्व तहलाई समावेश गर्नुका साथै विभिन्न समिति गठन गरेर रकम सङ्कलनका लागि काम अघि बढाउने तयारीमा रहेको उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यमबहादुर परियारले धुर्मुस सुन्तली फाउण्डेसनलाई जनताको साथ र महानगरको रेखदेखमा काम अघि बढाउन आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले रोकिएको रङ्गशाला निर्माणको काम अघि बढाउन फाउण्डेसनलाई अनुरोध गर्दै साथ र सहयोगमा जुट्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

रङ्गशालाको बार भत्काएको अभियोगमा थुनामा परेकाहरु छुटेर आज पत्रकार सम्मेलन गरी उक्त फाउण्डेसनलाई काम यथावत सञ्चालन गर्न गर्दै र यसमा आवश्यक सहयोगका लागि आफूहरु तयार रहेको जनाएका छन् । सो ठाउँमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी एकाइसमेत खडा गरिएको छ ।

रु तीन अर्बको लागतमा निर्माण गर्न लागिएको सो रङ्गशालाको शिलन्यास भदौमा गर्नका लागि काम अघि बढाइएको थियो । गएको माघ १६ गते प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भरतपुर महानगर र फाउण्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । महानगरको पहलमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको जमीन रङ्गशालाका लागि उपलब्ध गराइएको हो ।

Advertisement

Advertisement

Advertisement