दिपायल विमानस्थलको काम अझै अधुरो

Advertisement

डोटीको दिपायल विमानस्थलको कालोपत्रको काम तोकिएको समयमा सम्पन्न हुनसकेको छैन । सँगै काम शुरु गरिएको अछामको साँफेबगर विमानस्थलको निर्माणकार्य सम्पन्न भएर परीक्षण उडान भइसक्दासमेत दिपायल विमानस्थलको निर्माणकार्य भने अझै अधुरो छ ।

विसं २०५८ बाट बन्द भएको यो विमानस्थल पुनःसञ्चालनका लागि काम शुरु भएको थियो । तर दोस्रोपटक म्याद थप भएको समयमा पनि कालोपत्रको काम भने नसकिने अवस्था देखिएपछि स्थानीय आक्रोशित हुन थालेका छन् । पन्ध्र महीनामा निर्माणकार्य सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि साउनसम्मका लागि म्याद थप हुँदासमेत दिपायल विमानस्थलको कालोपत्रको कार्य पूरा हुननसकेको हो ।

विसं २०७३ कात्तिकमा काम शुरु गर्नुपर्ने भए पनि ढिलोगरी फागुनबाट मात्रै काम शुरु गरिएको थियो । अहिलेसम्म विमानस्थल कालोपत्रको ६० प्रतिशत काम भएको दाबी गरिएको छ । तर अहिलेसम्म कालोपत्र भने शुरु भएको छैन । विमानस्थल निर्माणकार्यका इञ्जिनीयर बालकृष्ण रेग्मीले निर्माण व्यवसायीले विभिन्न बहाना देखाउँदै काममा लापरवाही गरिरहेको आरोप लगाए ।

करीब ४९० मिटर लम्बाइको यो विमानस्थलको कालोपत्रका लागि झण्डै रु साढे पाँच करोड बजेट विनियोजन गरिएको छ । डेढ दशकदेखि ओझेलमा परेको विमानस्थल कालोपत्र गर्ने योजना आएपछि डोटेली जनता खुशी भएका थिए । तर, निर्धारित समय सकिएर छ महीनाको समय थप्दा पनि कालोपत्रको काम सकिने छाँटकाँट नदेखिएको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए ।

उनले भने, “काम पहिले नै सकिनुपर्ने हो, तर निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर काममा ढिलाइ गर्दा काम लम्बिएको हो, समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई कारवाही हुनुपर्छ”, लामो समयदेखि गौचरनमा परिणत दिपायल विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको आर्थिक समृद्धिसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सँगै काम शुरु गरिएको अछामको साँफेबगर विमानस्थलमा परीक्षण उडान हुँदासमेत दिपायल विमानस्थलको स्तरोन्नतिदेखि लिएर कालोपत्रसम्म नहुँदा स्थानीयवासी आक्रोशित हुन थालेको दिपायलका स्थानीयवासी पुष्कर द्वारियाले बताए ।

‘सँगै काम शुरु गरेको छिमेकी अछाम जिल्लामा जहाज आइसक्यो, हाम्रो विमानस्थलमा काम नै सकिएको छैन’, उनले भने, “लापरवाही गर्ने निर्माण व्यवसायीलाई कारवाही नगरिएकाले यो समस्या आएको हो ।” चार सय ९० मिटर लम्बाइको धावनमार्ग रहेको यो विमानस्थललाई स्तरोन्नति गरी एक हजार मिटर लम्बाइको धावनमार्ग बनाउने माग पनि हुँदै आएको छ । जग्गा अधिग्रहणका लागि सहमति भए पनि आगामी अर्थिक वर्षका लागि प्रदेश र सङ्घीय सरकारले बजेट विनियोजन नगर्दा उक्त योजना पनि अलपत्र पर्ने देखिएको छ । आफ्नै पहलमा विमानस्थलको काम शुरु भएको दाबी गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य प्रेम आलेमगरले विमानस्थलको स्तरोन्नतिका लागि बजेट आउने दाबी गरेका छन् ।

उक्त विमानस्थालमा काम गर्ने ठेकेदार कम्पनी सप्नाग्याल्भा जेभीले काम गर्न बन्द गरेको छ । यतिमात्र नभई उक्त विमानस्थल कालोपत्र गर्न ल्याइएका उपकरण पनि ठेकेदारले अन्यत्र लगेको स्थानीयवासी कमल माझीले बताए । उनले भने, “कालोपत्रको त कुरा छोडौँ ठेकेदारले कालोपत्र गर्न ल्याएका उपकरणसमेत अन्तै लगिसकेको छ, कहिले होला र कालोपत्र ।

Advertisement

Advertisement

Advertisement