जनता बैंकको एकैदिन ६ वटा शाखा कार्यालय विस्तार, कुल शाखा संख्या १३५ पुग्यो

Advertisement

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले बुधबार एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार शुरु गरेको छ । नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा विस्तार गरेको हो ।

मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरे । उक्त कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुरामकुँबर क्षेत्रीको उपस्थिति रहेको थियो ।

यसैगरी, फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका सञ्चालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले उद्घाटन गरेका हुन् ।

यी ६ वटा शाखा समेत गरी जनता बैंकको शाखा सञ्जाल पूर्वको ताप्लेजुङ्गदेखि पश्चिमको दार्चुलासम्म, शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको जनाइएको छ ।

यसैबीच, तनहुँको डुम्रेमा शाखा उद्घाटनसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविरपनि संचालन गरिएको बैंकले जनाएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement