एक महिनादेखि बन्द रहेको धनगढी विमानस्थल सञ्चालनमा आयो

Advertisement

धनगढी । एक महिनादेखि बन्द रहेको धनगढी विमानस्थल बुधबारबाट सञ्चालनमा आएको छ। धावनमार्ग मर्मत र स्तर वृद्धिका लागि गत वैशाख २२ गतेदेखि बन्द गरिएको विमानस्थल बुधबारबाट सुचारु गरिएको हो।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले धावनमार्ग मर्मत र स्तर वृद्धिको काम सकिएपछि विमानस्थलमा नियमित उडान सुरु भएको बताए। विमानस्थलका प्रमुख बुढथापाका अनुसार धावनमार्ग मर्मत र स्तर वृद्धिको काम सकिएकाले एयरलाईन्स कम्पनीहरुले आ(आफ्नो समयतालिका अनुसार उडान भरेका छन्।

एयरपोर्ट सुचारु भएपछि बुधबार वुद्ध र श्री एयरले दुई–दुई वटा उडान भरेका छन्। विमानस्थल सुचारु भएपछि यस क्षेत्रका स्थानीयलाई राजधानी आवत जावतमा राहत मिलेको छ।

गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम सुरु गरिएको थियो। यसअघि तीन वटा मात्रै ठूला जहाज पार्किङ गर्न मिल्ने विमानस्थलको स्तरोन्नति पछि एकै पटक चार ठूला जहाज पार्किङ गर्न सकिने भएको छ।

धनगढी विमानस्थल त्रिभुवन विमानस्थल पछिको ठुलो धावनमार्ग भएको विमानस्थल हो। अहिले ३० मिटर चौडाई र १८ सय मिटर लम्वाईको धावनमार्ग रहेकोमा स्तरोन्नतीको कार्य भईरहेको छ।

काम पूरा नसकिएकोले असार १ गते देखी थप काम हुनेछ। बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म विमान सुचारु हुने र अन्य समयमा मर्मतको कार्य जारी रहने प्रमुख थापाले जानकारी दिए।

धनगढी विमानस्थलमा विगत ८ दिन देखि विद्युत सेवा नहुँदा सेवा प्रभावित हुन थालेको छ। एक महिनाअघि सुरु भएको विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम पूरा भएपछि बुधबारदेखि विमानस्थल सुचारु भएपनि विद्युत सेवा नहुँदा जुनसुकै बेला बन्द हुन सक्ने विमानस्थल प्रशासनले जनाएको छ।

Advertisement

Advertisement

Advertisement