युवा उद्यमीहरुलाई राजनीतिमा लाग्न बाबुरामको फरक खालको सल्लाह

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले ‘बाबुराम भट्टराईको आखाँबाट नेपाल’ शीर्षकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग बुधबार अन्तरक्रिया गरेको छ । कार्यक्रमको उद्देश्य भट्टराईको राजनीतिक जीवनको अनुभव र उनले नेपालको अबको भविष्य कस्तो देख्छन ? भन्ने कुरा सुन्नु रहेको जनाइएको छ ।

भट्टराईले राजनीति व्यापार तथा उद्योगबाट अलग नरेहेको भन्दै युवा उद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह गरे । नेपाल किन बाँकी विश्व भन्दा धेरै पछाडि पर्यो ? भन्ने युवा उद्यमीहरुको प्रश्नमा भट्टराईले केही ऐतिहासिक तथ्यहरुलाई उल्लेख गर्दै भने, ‘अठारौं शताब्दीमा नेपाल २५ वटा विकसित देशभित्र पथ्र्यो । तर शाह तथा राणा शासन कालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर दोहोर नहुँदा प्रगति रोकिन पुग्यो । तर अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।’

चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देश बीचको गतिशील पुलको रुपमा आर्थिक विकास गर्ने अवसर प्राप्त भएको भन्दै भट्टराईले चीनसँगको सम्बन्धले महत्व राखे पनि भारतसँगको ऐतिहासिक, भौगोलिक सांस्कृतिक र आर्थिक सम्बन्धले भारतसँग नेपाल थप नजिक रहेको बताए ।

उनले निर्वाचित राष्ट्रपतीय प्रणालीले नेपाललाई फाइदा पुग्ने आफ्नो विश्वास रहेको पनि बताए । भट्टराईले नेपालको भविष्य सकारात्मक रहेको तर्क गरे । परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग व्यवसायको वस्तुस्थिति बारे बताएका थिए ।

Advertisement

Advertisement

Advertisement