महासंघको अबको नेतृत्वमा के कसरी चयन हुन्छ ? विशेष साधारणसभापछि थाहा हुन्छः उमेशलाल श्रेष्ठ

Advertisement

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघभित्र विधान संशोधन, निर्वाचन प्रणाली र भावी नेतृत्वको विषयलाई लिएर बहस चर्किंदै गएको छ । महासंघको बार्षिक साधारणसभा अघि नै विशेष साधारण बोलाएर विधान संशोधन टुँग्याउने तयारी भइरहँदा महासंघकै एक उपाध्यक्ष उमेशलाल श्रेष्ठसँग कर्पोरेट नेपालका सीताराम विलासीले गरेको कुराकानीको सार यस्तो छः

महासंघ टुक्रिनसक्छ भनेर मिडियामा बोल्नुभएछ । खास कुरा के हो ?
महासंघ टुक्राउने भनेको होइन् । महासंघले सबैलाई समेट्न सकेन् । उचित व्यवहार गर्न सकेन् भने टुक्रिन्छ भनेको हो । म को हो र टुक्राउने ?

तपाईंको चासो महासंघको भावी नेतृत्वका लागि हो जस्तो देखिन्छ । वरिष्ठ उपाध्यक्षको निर्वाचन नगरेर सोझै अध्यक्षका लागि गर्ने कुरा त्यही होइन् र ?
वरिष्ठ उपाध्यक्ष रहोस नरहोस, मेरो चोसोको विषय होइन । मेरो चासोको विषय भनेको वस्तुगत समूहले असाध्यै थोरै मत पायो । मेरो औषधि उत्पादन संघमा ५८ जना सदस्य छ । त्यसले एक मत हाल्ने । त्यही संघका ३२ जनाभन्दा बढि एशोसियट सदस्यले पनि एक एक भोट हाल्ने । यो कसरी मिल्नसक्छ । यता निर्माण व्यवसायी महासंघका १५ सयभन्दा बढि सदस्य छन् । महासंघले एक भोट हाल्ने । त्यसैबाट २०–३० जना एशोसियट सदस्य छन्, उनीहरुले पनि एक एक भोट हाल्ने । यो व्यवहारिक र न्यायोचित भएन् । अरु चिजमा विधान संशोधन भए पनि नभए पनि फरक नपर्ला । प्रत्यक्ष वा अप्रत्यक्ष निर्वाचन प्रणाली, को वरिष्ठ हुने ? वा को अध्यक्ष हुने कुराले महासंघलाई असर पर्दैन । तर वस्तुगतसम्वन्धमा यो खालको व्यवस्था कायम रहने हो भने महासंघ भनेर बसिरहनु जरुरी छैन् । जस्तो निर्माण व्यवसायी महासंघलाई उद्योग बाणिज्य महासंघ जरुरी नै छैन् । उनीहरु आफै संघर्ष गरिरहेको छ । हामीले उनीहरुको मागमा एक्यवद्धता मात्रै जनाउने गरेको हो । अरु वस्तुगत सदस्यहरु पनि धेरै आफै सक्षम छन् । उनीहरुलाई उद्योग बाणिज्य महासंघले कसरी बचाउने ? कसरी संरक्षण गर्ने ? कसरी उचित प्रतिनिधित्व गर्ने भन्ने मुल प्रश्न हो ।

अप्रत्यक्ष निर्वाचन प्रणाली हटाउने कुरा फेरि आएको छ, पहिला किन रोज्नुभयो त्यो निर्वाचन प्रणाली ?
प्रत्यक्ष निर्वाचन गर्ने प्रथालाई जुन बेलामा हटाइयो, त्यो बेलामा म विरोधी नै थिए । साथीहरुले सोही पक्षमा देखिएपछि मैले पनि ठिकै छ भनेको हो । अप्रत्यक्ष निर्वाचनबाट जुन खालको समस्या देखिन थाल्यो, त्यसपछि यो ठिक छैन भनेर तलबाटै कुरा उठ्न थालेको हो । हामीले उठाएको विषय नै होइन् । त्यही कारण यसअघिको बार्षिक साधारणसभाले चण्डिराज ढकालको नेतृत्वमा विधान संशोधन समिति बनायो । यसमा म पनि सदस्य छु । समितिले आम व्यवसायीहरुलाई पत्राचार गरेर संशोधन र सुधार गर्नुपर्ने कुराहरुको लागि सुझाव मागेका छ । लिखित मौखिक सुझावहरु आइरहेका छन् । सुधारका लागि धेरै सुझाव आएका छन् ।

तर विधान संशोधनको कुरा भइरहँदा एउटै मात्रै गलत कुरा बाहिर के आयो भने यो व्यक्ति केन्द्रीत छ । विधान संशोधन व्यक्ति केन्द्रीत छ भन्ने कुरा सरासर झुट र गलत हो । जतिबेला अप्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गरियो, त्यो बेला पनि व्यक्ति केन्द्रीत थिएन् । अहिले संशोधनको जुन कुरा आइरहेको छ, त्यो पनि व्यक्ति केन्द्रीत होइन् । यो आमउद्योगी व्यवसायीको आवाज हो । त्यो बेलामा जानेर नजानेर गलत सिस्टम बनाइयो । त्यसलाई सुधार गर्न खाजेको मात्रै हो । महासंघ भनेको दुई चार जना टाठा बाठाको मात्रै होइन् । सबै उद्योगी व्यवसायीको हो । विधान संशोधन गर्ने कुरा मैले वा एक दुई व्यवसायीले चाहेर हुने कुरा पनि होइन् । बहुसंख्यक सदस्यहरुले पास गरे भने लागू हुने कुरा हो । कतिपयले भन्छन्, विधान संशोधन भयो भने महासंघ टुक्रिन्छ । म भन्छु, महासंघ टुक्रियो भने निर्वाचन प्रणालीले गर्दा होइन्, अरु कारणले टुक्रिन्छ । वस्तुगतलाई उचित मतभार नदिने हो भने टुक्रिन्छ ।

संशोधनको संभावना छ त ?
धेरै जिल्ला र वस्तुगत संघहरुले विधान संशोधनको कुरा उठाएको अवस्था छ । दबाब पनि छ । कसै कसैले चाहीं किन संशोधन गर्नुपर्यो र ? पनि भन्नुभएको छ । कसैले यो कार्यकालमा संशोधन नगरौं, अर्कोमा गरौंला भन्नुभएको छ । तर मेजोरिटीको माग अहिले नै संशोधन हुनुपर्छ भन्ने छ । मलाई जहासम्म लाग्छ, संशोधनको संभावना प्रवल छ । आम व्यवसायी साथीहरुको मागअनुसार संशोधन भयो भने त्यसलाई सबैले स्वीकार गर्नु पनि पर्छ । यो विशुद्ध साधारणसभामा भाग लिने सदस्य साथीहरुको निर्णयमा भर पर्ने कुरा हो । म व्यक्तिगतरुपमा कसैसँग कुरा गर्दा वा मसँग अरुले कुरा गर्दा व्यक्तिगत मत राख्दिन । मैले विधान संशोधन हुनुपर्छ भनेर बोल्दै हिंड्न पनि मिल्दैन । मैले वा चण्डिराज ढकालले चाहेर पनि विधान संशोधन हुन्छ भन्ने पनि छैन् । न हामीहरुले संशोधनका लागि लबिङ गरेका छौं । न सार्वजनिकरुपमा बोल्दै हिंडेका छौं । हामीले सुझाव मात्रै संकलन गरिरहेका छौं ।

कहिले हुन्छ विशेष साधारणसभा ?
मुलुकभरबाट आएका सुझावका आधारमा अब हामी तीन महले बनाउँछौं । त्यसमा सबैको सुझाव र दृष्टिकोणहरु राख्छौं । त्यो तीन महलेलाई कार्यकारिणी समितिले पास गर्छ । पास भएपछि विशेष साधारणसभा बोलाइन्छ । साधारणसभामा ६० प्रतिशत साथीहरुले जे फैसला दिनुहुन्छ, त्यही नै पास हुन्छ । यो कुरा बार्षिक साधारणसभा अघि नै विशेष साधारणसभा भएर टुङ्गो लाग्छ । बार्षिक साधारणसभा अघि नै यसलाई टुँग्याउनुपर्छ ।

भनेपछि महासंघको भावी अध्यक्ष शेखर गोल्छा हो भनेर भन्ने अवस्था छैन ?
यो कुरा मैले भन्नसक्ने अवस्था छैन् । विधान संशोधन नभएसम्म के हुन्छ भन्न सकिन्न । तर अहिलेको विधानको व्यवस्थाअनुसार उहाँ अबको अध्यक्ष हो । भोलि विशेष साधारणसभामा कस्तो खालको विधान पास गर्छ ? त्यसले निर्धारण गर्छ । विधान संशोधन भएर अध्यक्षको निर्वाचन गर्ने भन्ने आयो भने त त्यहीअनुसार जो निर्वाचित हुन्छ, त्यो अध्यक्ष हुने अवस्था आउँछ । महासंघका बहुमत सदस्यहरुले भोलि के भन्नुहुन्छ ? त्यसमा भर पर्छ ।

भनेपछि तपाईं अबको नेतृत्वको आकांक्षी हो ?
म त्यसै पनि आकांक्षी हो । भोलि शेखरजी अध्यक्ष नै हुने अवस्था रह्यो भने पनि म वरिष्ठ उपाध्यक्षको लागि क्यान्डिडेट हो । होइन् विशेष सधारणसभाले प्रत्यक्ष निर्वाचन गर्ने भनेर विधान पास गर्यो भने पनि त्यसका लागि क्यान्डिडेट हो । मैले चुनाव लड्ने कुरा शेखरजी वा कुनै व्यक्तिसँग सम्वन्धित छैन् ।

अर्को कुरा विधान संशोधन भएर शेखर गोल्छा स्वतः अध्यक्ष नहुने अवस्था सिर्जना भयो भने मारवाडी समुदायहरु विभाजित हुने अवस्था पनि आउला नि ?
यो कुनै समुदायसँग सम्वन्धित कुरा होइन् । यहाँ व्यवसायिक हित र सहभागिताका लागि विधान संशोधनको कुरा भएको हो । कुनै व्यक्तिसँगको कुरा होइन् । वस्तुगत समूहका सदस्यहरुको उचित प्रतिनिधित्वको कुरा आएको छ । ठूलासँगै साना व्यवसायीको हितको कुरा जोडिएको छ । महासंघले सबैको समस्यालाई हेर्नुपर्छ । यहाँ मारवाही, नेवार भन्ने नै होइन् । हाम्रो एउटै समुदाय हो उद्योग व्यवसाय । कसैले जातको कुरा गर्छ भने त्यो उसको कमजोरी हो । व्यक्तिगतरुपमा भन्नुहुन्छ म समुदायको आधारमा गरिने कुराको विरोधी हुँ । व्यवसायिक हकहित र आर्थिक विकासको एजेण्डामा सबैले कुरा गर्नुपर्छ । कुनै पनि संस्थामा सही र नेतृत्व गर्नसक्ने व्यक्ति चाहिन्छ । संकृण सोचको व्यक्तिले नेतृत्व गर्न सक्दैन् । नेवार हुँदैमा मैले नेतृत्व खोज्ने हो भने त मैले नेवार व्यापार संघ खोल्नुपर्यो ।

भन्नाले शेखर गोल्छाको नेतृत्व क्षमताको कुरा गर्न खोज्नुभएको हो ?
व्यक्तिगत कुरा होइन् । निजी क्षेत्रलाई यस्तो व्यक्तिले नेतृत्व गर्नुपर्यो जसले ताप्लेजुङदेखि दार्जुलाका साना साना व्यवसायीको पनि भावना बुझ्नसक्ने हुनुपर्यो । खाली कर्पोरेट कल्चरमा रमाएका, शोकल्ड ठूलाले सबैको भावना बुझ्न सक्दैन् । हामीले छाता संगठन किन भन्ने ? किराना व्यवसाय गर्ने एउटा सानो व्यवसायीको पनि भावना बुझ्नुपर्छ नेतृत्वले । ठूलठूला कर्पोरेट हाउसको पनि समस्या बुझ्नुपर्यो । नेतृत्वको क्षमता भनेको भाषण गर्न जानेर मात्रै हुँदैन् । डेमोक्राटिक हिसावले नेतृत्व गर्नसक्ने क्षमता पनि चाहिन्छ । राजनीतिक पहुँच छ भन्दैमा हुँदैन । महासंघको नेतृत्व तहमा पुगेपछि राजनीतिक पहुँच सबैको भइहाल्छ । मैले भन्न खोजेको क्षमताका आधारमा नेतृत्व हुनुपर्छ भन्ने हो । क्षमता कस्को छ छैन भनेर हेर्ने भनेको व्यवसायी साथीहरुले हो । भोट हाल्ने साथीहरुले ‘यो व्यक्तिले मेरो नेतृत्व गर्नसक्छ, यो व्यक्ति भयो भने व्यवसायीको भावना बुझ्छ, मेरा कुरा सुन्छ ।’ भनेर पहिचान गर्ने व्यक्ति नै नेतृत्वमा पुग्नुपर्छ । मैले मेरो क्षमता छ भन्दैमा हुँदैन । उनीहरुले भन्नुपर्यो । विगतमा महासंघका विभिन्न पदहरुमा रहँदा कस्तो भूमिका खेल्यो भन्ने कुरा पनि त उनीहरुले मूल्यांकन गर्छन् । आफ्नो स्वार्थ मात्रै नहेरी सबैसँग मिलेर काम गर्नसक्ने जुझारु नेतृत्व महासंघलाई खाँचो छ । महासंघमा बसेर ‘मैले यति व्यापार बढाएँ’ भन्ने व्यक्ति चाहिएको होइन् । आज किन गर्ने भोलि गरौंला नी भन्ने सोचको मान्छेले भोलि पनि गर्छ कि गर्दैन ? के थाहा ?

राजनीतिको कुरा निकाल्नुभयो । तपाईं राजनीतिक पृष्टभूमिको मान्छे पनि हो ? नेतृत्वको दावी गर्दैगर्दा धेरै आरोप तपाईं माथि पनि लाग्ला नि ?
राजनीतिक पृष्टभूमि भए पनि म यो देशको नागरिक होइन् ? म व्यवसायी होइन् ? मेरो पनि त अधिकार छ नि दावी गर्ने । महासंघमा यत्रो बर्ष काम गर्दै आएर उपाध्यक्ष भएको होइन् ?

Advertisement

Advertisement

Advertisement