भेट्न आएको परिसंघको टोलीलाई राष्ट्रपतिको सुझाव– उत्पादन बढाएर व्यापार घाटा कम गर्नुस्

Advertisement

काठमाडौं । आफूलाई भेट्न आएको नेपाल उद्योग परिसंघको टोलीलाई राष्ट्रपति विद्या भण्डारीले उत्पादन बढाएर उच्च व्यापार घाटा कम गर्न सल्लाह दिएकी छन् ।

राष्ट्रपति निवासमा भएको भेटमा भण्डारीले तीब्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र एक अर्काका परिपुरक रहेको बताउँदै उत्पादन बढाएर आर्थिक विकास तीब्र पार्न आग्रह गरिन् । परिसंघको नयाँ कार्यसमितिलाई बधाई दिँदै उनले बेरोजगारीको विकराल समस्या हटाउन तथा वैदेशिक रोजगारीको बाध्यात्मक अवस्थाको अन्त्यका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले थालेको प्रयासलाई सघाउन पनि राष्ट्रपतिले उद्योगी व्यवसायीहरुलाई आग्रह गरिन् ।

चुलिएको व्यापार घाटा कम गर्न निकासी बढाउनुको विकल्प नरहेको राष्ट्रपति भण्डारीको भनाई थियो । स्वदेशी कच्चा पदार्थको उपयोगमा जोड दिनुपर्ने भन्दै उनले पूर्वाधार विकास र औद्योगिकीकरणमा सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्ने र त्यसमा देखिने समस्या समाधानमा सकारात्मक भूमिका निभाउन बताइन् ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको माध्यमबाट मुलुकको आर्थिक, उद्योग, लगानी विस्तार, निकासी प्रवद्र्धन, रोजगारी सिर्जना, पूर्वाधार विकास आदिको क्षेत्रमा सरकारसँग परिसंघले विभिन्न कार्यक्रमको माध्येमबाट निरन्तर सहकार्य गरी रहेको बताए ।

आगामी आर्थिक वर्षको बजेटमा गरिएको उत्पादनमूलक क्षेत्रमा गरिएको व्यवस्था, ऐन कानुनको सुधारमा सरकारले लिएको पहल, राष्ट्रिय महत्वका आयोजनामा सरकारले तोकेको प्राथमिकता जस्ता प्रावधानहरुबाट नेपालको निजी क्षेत्र उत्साहित रहेको भन्दै तापनि उद्योग–व्यवसाय विस्तार र पूर्वाधार विकासको क्षेत्र लगायत कतिपय क्षेत्रमा अझ पनि प्रक्रियागत समस्याहरु विद्यमान रहेको र समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर जाँदा त्यसको समाधान हुन्छ भन्ने विश्वास आफूहरुको रहेको बताए ।

मोरले सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रममा निजी क्षेत्रको साझेदारी थप कसरी प्रभावकारी हुन सक्छ, कार्यान्वयन तहमा विद्यमान प्रक्रियागत समस्याहरुको समाधान र यी क्षेत्रहरुको कार्यान्वयनलाई कसरी निजी क्षेत्रमैत्री बनाउन सकिन्छ भन्नेमा आफूहरु रहेको बताए ।

Advertisement

Advertisement

Advertisement