गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेगावाट विद्युत् उत्पादन गरिने

Advertisement

रुपन्देही । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेगावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एसियाली विकास बैंक (एडिबी) को अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाएको प्रमुख अधिकारीले बताए ।

एसियाली विकास बैंकका अधिकृत नरेश प्रधानका अनुसार सौर्य ऊर्जा जडानका लागि एडीबीले एक अर्ब रुपैयाँ अनुदान रकम दिने गरी छलफल चलाएको हो । प्रधानले भने, ‘१० मेगावाट सौर्य ऊर्जा निकाल्न करिब एक अर्ब लगानी लाग्ने अनुमान छ । उक्त रकम अनुदानमा प्राप्त हुनेछ । सोही अनुसार विद्युत्, एडीबी र नागरिक उड्डयन प्राधिकरणबीच छलफल भइसकेको छ ।’

छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित छ ।

विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यमा एडीबीले ५८ दशमलव पाँच प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलव पाँच प्रतिशत र नागरिक उड्डयन प्राधिकरणले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य सुरु भए पनि अहिले एडीबीले ६२ दशमलव छ प्रतिशत र नागरिक उड्डयन प्राधिकरणले ३७ दशमलव चार प्रतिशत लागत बेहोरिरहेका छन् ।

नेपाल सरकारले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि तीन अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।

Advertisement

Advertisement

Advertisement