कर्णाली प्रदेश सरकारले ३३ अर्ब बराबरको बजेट ल्याउँदै

Advertisement

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ का लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब बराबरको बजेट ल्याउने भएको छ । आउँदो असार एक गते संसदमा प्रस्तुत गर्ने गरी बजेट निर्माण कार्य तीव्र पारिएको छ ।

संघीय सरकारबाट प्राप्त सिलिङ्गअनुसार बजेटको तयारी भइरहेको जनाइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार संघीय सरकारबाट विभिन्न शीर्षकमा प्रदेशले अनुदान प्राप्त गरेको छ ।

जसमा समानिकरण अनुदानतर्फ नौ अर्ब ८४ करोड ८३ लाख, राजश्व बाँडफाँडमा सात अर्ब ४४ करोड ४३ लाख र शसर्त अनुदानमा पाँच अर्ब २७ करोड उपलब्ध भएको छ । यसबाहेक चालु आर्थिक वर्षमा खर्च हुन नसकेको झण्डै आठ अर्ब र प्रदेशको आन्तरिक स्रोतलाई मिलाएर बजेट ल्याउने तयारी भइरहेको हो ।

चालु आर्थिक वर्षमा घाटा बजेटसमेत ल्याएको सरकारले त्यसैअनुसारको बजेट उपलब्ध नभएपछि आगामी वर्ष भने घाटा बजेटसमेत नल्याउने बताएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ५० करोेड आन्तरिक स्रोत संकलन गर्ने लक्ष्य लिए पनि पूरा गर्न नसकेपछिस्रोत खोजी गरेर राजश्वको दायरा पनि बढाउने र राजश्वको अनुमान पनि बढाउने तयारी पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement