काठमाडौंका नेताहरु भन्छन्– गुठी विधेयक फिर्ता नभए गणतन्त्र पनि नरहनसक्छ

Advertisement

काठमाडौं । नेकपाका नेता तथा सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा दिनुपर्ने तर्क गरेका छन् । रिपोर्टर्स क्लवमा शनिबार उनले गुठीलाई सामन्ती प्रथासँग जोडेकोमा कडा आपत्ती जनाए ।

मानन्धरले भने, ‘सरकार प्रवक्ताको रुपमा उहाँले ‘सामन्ती’ भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।’ सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको उनको आरोप छ ।

मानन्धरले भने, ‘संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस् ।’ मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै उनले राजिनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए । मानन्धरले थपे, ‘आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ ।’

मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने भन्दै उनले प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाडौंमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिए ।

उनले भने, ‘म यहींबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाडौं के हुन्छ ? यो मेरो चुनौति होइन, सरकारलाई सुझाब हो ।’ प्रधानमन्त्रीले पनि विधेयक फिर्ता लिन नमाने गणतन्त्र नै संकटमा पर्ने मानन्धरको संकेत थियो ।

सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने भन्दै उनले बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको आरोप छ ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता तथा सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए । कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने प्रधानको भनाई थियो । विधेयक फिर्ता भएन भने काठमाडौं जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने प्रधानको चेतावनी थियो । प्रधानले मन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको बताए ।

गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयताविरोधीको रुपमा देखा परेको जिकिर गरे । ६२–६३ को आन्दोलनका बेला घरमा बसेर बयलगाढा चढेर अमेरिका पुगिदैन भन्ने ओली अहिले धर्म संस्कृति मास्न लागिपरेको प्रधानले आरोप लगाए ।

ओलीले होली वाइन खाएको आरोप लगाउँदै प्रधानले नेपाली मौलिक संस्कृति मास्न खोजेको जिकिर गरे । उनले भने, ‘गुठी विधेयक फिर्ता गर्नुपर्छ । फिर्ता भएन भने कुनै पनि हालतमा संसद चल्न दिँदैनौँ । ४ गतेपछि के हुन्छ हेर्दै जानुस् ।’

पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए । गुठियारहरुको सम्पत्तिको सम्मान गर्दै सरकारले उचित निर्णय गर्नुपर्ने सुझाब टण्डनले दिए ।

उनले भने, “गुठी भनेका हाम्रा पुर्वजहरुले गुठियारहरुलाई ल है संरक्षण गर भनेर दिएको सम्पत्ति हो ।”

Advertisement

Advertisement

Advertisement