आजदेखि काठमाडौंमा स्मार्ट पार्किङको औपचारीक शुरुवात, कसरी गर्ने र कति शुल्क तिर्ने ?

Advertisement

काठमाडौं । राजधानीको न्यूरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ औपचारीक रुपमा शुरु भएको छ । केही समयदेखि परीक्षण कालमा रहेको स्मार्ट पार्किङको आज बिहान काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् ।

सो स्थलमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधान पार्किङ गर्न सकिन्छ । रियल टाइम बिलिङ हुन्छ, त्यस्को रेकर्ड महानगरको सर्भरमा रहने छ । दिनभर पार्किङ गर्ने परिपाटी अन्त्य गर्न स्मार्ट पार्किङ शुरु गरिएको महानगरका प्रमुख शाक्यले बताए ।

तीन महिनाअघि काठमाडौं महानगरले ह्विल्स ट्रलियोर्स कम्पनीसँग स्मार्ट पार्किङ सञ्चालनका लागि सम्झौता गरेको थियो । कम्पनीका अनुसार हाललाई खिचापोखरी सडक, पाको सडक, प्युखा मार्ग, शुक्रपथ र धर्मपथ गरी पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था मिलाईएको छ ।

यी स्थानमा ८०० बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको छ । बाइकका लागि प्रतिघण्टा २५ रुपियाँ र गाडीको लागि प्रतिघण्टा ८० रुपिँया शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

कसरी गर्ने पार्किङ बुकिङ ?

सेवा प्रयोग गर्न चाहने व्यक्तिहरूले स्मार्ट फोनमा ९केटीएम पार्क० नामक एप डाउनलोड गरी आफ्नो साधन पार्किङ गर्ने स्थान बुक गर्न सक्नेछन्। सेवाग्राहीले पहिला (केटीएम पार्क) एपमा गई दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन छनोट गर्नुपर्नेछ। चार पाङ्ग्रे सवारी साधनका लागि धर्मपथमा मात्रै पार्किङको व्यवस्था मिलाइएको छ।

सबै स्थानमा गरेर करिब ७०० वटा दुई पाङ्ग्रे सवारी साधन र १०० वटा चार पाङ्ग्रे सवारी पार्क गर्न मिल्नेछ। बुकिङ गर्ने सेवाग्राही १५ मिनेटभित्र आफूले पार्किङ बुक गरेको स्थानमा पुग्नु पर्नेछ।

दुई पाङ्ग्रे सवारीसाधन पार्किङ बुक गर्न चाहनेले खिचापोखरी सडक,पाको सडक, प्युखा सडक र शुक्रपथमध्ये आफूलाई पायक पर्ने स्थानमा पार्किङ बुक गर्न सक्नेछन्।

१५ दिन भित्रै दरबारमार्गमा पनि स्मार्ट पार्किङ
यता, दरबारमार्गमा समेत स्मार्ट पार्किङ सञ्चालनको तयारी भएको छ । कम्पनीका अनुसार १५ दिन भित्र उक्त स्थानमा पार्किङ सञ्चालन हुनेछ । त्यहाँ ३५ वटा गाडी र १५० बाइक पार्किङ गर्न सकिने छ ।

९० लाखको लगानी
काठमाडौं महानगर र कम्पनीको सम्झौता अनुसार स्मार्ट पार्किङबाट उठेको शुल्क १० देखि १५ प्रतिशत सम्म कम्पनीले राख्नेछ । बाँकी व्यवस्थापकीय खर्च कटाएर महानगरले पाउनेछ । न्यूरोड र दरबारमार्गमा स्मार्ट पार्किङ सञ्चालन गर्न ९० लाख लगानी गरिएको छ ।

Advertisement

Advertisement

Advertisement