टायर पंक्चर भएको विमान अवतरणपछि विमानस्थल बन्द

Advertisement

अमेरिका । अमेरिकाको न्युजर्सीमा रहेको व्यस्त न्युआर्क विमानस्थल शनिवार केही समयका लागि बन्द गरिएको छ । युनाइटेड एयरलाइन्सको एक विमानका अनेकौं टायर अवतरणका क्रममा पंक्चर भए अनि विमान धावनमार्गबाट अलिकति चिप्लिएको संघीय उड्डयन प्रशासनले जनाएको छ ।

न्युजर्सीस्थित न्युआर्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यो घटनामा परी कसैलाई पनि चोटपटक लागेको छैन । युनाइटेड एयरलाइन्सको फ्लाइट ६२७ डेन्भरबाट आइपुगेर १ बजे अवतरण गरेको थियो । त्यसक्रममा यो धावनमार्गको देब्रेतर्फ चिप्लिएको थियो । विमानको प्रमुख ल्यान्डिङ गीयर घाँसे इलाकामा अड्किएको थियो ।

विमानमा १६६ यात्रु थिए । अवतरणका क्रममा विमानका अनेकौं टायर पंक्चर भएर काम नलाग्ने बनेको युनाइटेड एयरलाइन्सका प्रवक्ता रोबर्ट आइनहोर्नले वक्तव्य जारी गरेर बताए ।

घटनापछि न्युर्आक विमानस्थल एक घन्टाका लागि बन्द गरिएको थियो । यात्रुहरू विमानबाट ओर्लिएपछि विमानलाई हटाइएको उड्डयन प्रशासनले बताए । अनुसन्धानकर्मीहरूले यसको जाँचबुझ गरिरहेका छन् । केही यात्रुलाई सामान्य चोटपटक लागेको थियो तर उनीहरूले स्वास्थ्य जाँच गराउन मानेनन् ।

Advertisement

Advertisement

Advertisement