गुठी विधेयकविरुद्ध आन्दोलनको घोषणा, उपत्यका बन्दको समेत कार्यक्रम

Advertisement

काठमाडौं । सरकारले ल्याउन लागेको गुठीसम्वन्धी संशोधन विधेयकको विरुद्धमा हिन्दु धर्मसँग सम्बन्धित संस्थाहरुले आन्दोलनको घोषणा गरेका छन । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

गुठी विधेयकको विशेषगरी काठमाडौंका नेवार समुदायले विरोध जनाइरहेको बेला हिन्दुवादी संघसंस्था पनि आन्दोलनका कार्यक्रमसहित अघि सरेको हो । समितिले असार १० गते काठमाडौं उपत्यका बन्दको समेत आव्हान गरेको छ ।

पत्रकार सम्मेलनमा समितिका पदाधिकारीले विधेयकको विरोधमा असार २ गतेबाटै चरणवद्ध आन्दोलन गर्ने जनाउँदै विधेयक फिर्ता नभए असार १० गते उपत्यका बन्द बताए । उनीहरुले देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने, असार ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोधसभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्टा बजाउने, असार ५ गते काठमाडौंको बसन्तपुरमा विरोधसभा आयोजना गर्ने, असार ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्नेलगायतका विरोधका कार्यक्रम पनि गर्ने जनाएका छन् ।

समितिका महासचिव रोशनजंग बस्नेत, विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले मुलुकको धर्म र संस्कृतिनै नष्ट हुने गरी आएको सो विधेयक तत्काल फिर्ता नलिएकाले आन्दोलनका कडा कार्यक्रम लिएर उत्रन बाध्य भएको बताए ।

उनीहरुले विदेशी पैसाको लोभमा सरकार र राजनीति गर्नेहरुले हिन्दु धर्मलाई नष्ट गर्ने र क्रिश्चियन धर्मलाई संरक्षण गर्ने काम गरिरहेको आरोप पनि लगाए ।

Advertisement

Advertisement

Advertisement