कुलमान आएपछि पहिलो पटक प्राधिकरणमा तालाबन्दी, ताला लगाउने सत्तारुढ दलनिकट युनियन

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि पहिलो पटक तालाबन्दी भएको छ । तालाबन्दी गर्ने सत्तारुढ दलनिकट कर्मचारी युनियन हो ।

आधिकारिक कर्मचारी युनियनको रुपमा समेत प्रतिनिधित्व गर्दै आएको नेविप्रा कर्मचारी युनियनले सरुवाप्रति असन्तुष्टि जनाउँदै मंगलबार तालाबन्दी गरेको हो । सरुवाका लागि पठाएका आफ्ना युनियनसम्वद्ध कर्मचारीहरु भनेको ठाउँमा सरुवा नगरेको भन्दै प्रशासनमा तालाबन्दी गरेको हो ।

प्राधिकरणले हालै लामो समयदेखि सरुवा नभएका एक हजार ५५५ र मेडिकल बोर्डको सिफारिसमा १९ जना गरी एक हजार ५७४ जनाको सरुवा गरेको थियो । युनियनसम्वद्ध एक अधिकारीले आफूहरुले सिफारिस गरेअनुसार कर्मचारी सरुवा नभएकाले तालाबन्दी गर्नुपरेको बताए । उनले यस विषयमा छलफल गर्न प्राधिकरण व्यवस्थापनले आजै बोलाएको पनि उनले बताए ।

युनियनले कर्मचारी प्रशासन महाशाखा प्रमुख डोलनाथ कंडेल र कर्मचारी प्रशासन शाखा प्रमुख जमुना खड्काको कोठामा तालाबन्दी गरेका हुन् । बिगतमा आधिकारिक युनियनको चुनावको बेलामा गरिएको सहमतिअनुसार तीन बर्षभन्दा लामो समयदेखि सरुवा हुन नपाएका कर्मचारीहरुलाई सरुवा कार्यविधि संशोधन गरी कर्मचारीहरुलाई सरुवा गर्न व्यवस्थापन तयार भए पनि सिफारिसअनुसार नगरी कर्मचारीलाई अपायक हुनेगरी सरुवा गर्ने काम भएपछि ताला लगाइएको जनाइएको छ ।

युनियनका संयोजक रामेश्वर पौडेलले भने आफूहरुले सरुवाका लागि मात्रै नभएर प्राधिकरणभित्रका विकृति अन्त्य, ग्राहकलाई एउटा सेवा लिन १० वटा कोठा धाउनुपर्ने अवस्था अन्त्यका लागि एकद्धार प्रणाली लागू गर्ने जस्ता सुधारका कुराहरु पनि उठाएको भन्दै यस्ता सकारात्मक पक्षलाई ओझोलमा पार्ने काम मिडियाले गर्न नहुने बताए ।

Advertisement

Advertisement

Advertisement