गुठी विधेयक ल्याउने काँग्रेस होः बस्नेत, भूमाफियाको प्रभावमा यही सरकारले ल्याएको होः जोशी

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु सरकारले कब्जामा लिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले गुठीको जग्गा संरक्षण गर्न सरकार लागेको भन्दै जग्गा हडप्नेविरुद्ध कडारुपमा प्रस्तुत हुने बताए । बस्नेतले भने, ‘गुठीको जग्गामा महल र कम्प्लेक्स ठडिएको छ भने पनि सरकारले तत्काल कब्जामा लिनुपर्छ ।’

गुठीको जग्गा जोगाउन सरकार आक्रामकरुपमा प्रस्तुत भएको भन्दै उनले गुठीको जग्गा हडपेर बनाइएको छायाँ सेन्टर समेत कब्जामा लिनुपर्ने बताए । बस्नेतले भने, ‘छायाँ सेन्टरलगायत गुठीमा बनेका संरचना सरकारले कब्जामा लिनुपर्छ ।’

काठमाडौं बाहिर र भित्रको गुठी फरक भएकाले यही विधेयकले समेट्न नसक्ने उनको भनाई छ । बस्नेतले फरक तरिकाले गुठीको समस्या सुल्झाउनुपर्ने बताए । बस्नेतले सरकारले गुठीबारे उठेको मागको यथोचित् सम्बोधन गर्नुपर्ने बताउँदै गुठीको जग्गा व्यक्तिको नाममा पुर्याउने विधेयक विगतमा नेपाली काँग्रेसले ल्याएको र अहिले गुठीको पक्षमा काँग्रेस देखिनु लाजमर्दो भएको बताए ।

बस्नेतले भने, ‘हिजो गुठीको जग्गा व्यक्तिको नाममा पुर्¥याउनेहरु आज गुठीको संरक्षक बन्न खोजेका छन् ।’

काँग्रेस नेता नवीन्द्रराज जोशीले सरकार भूमाफियाबाट प्रभावित भएर गुठी विधेयक ल्याएको आरोप लगाए । गुठीको जग्गा कब्जामा लिन चलखेल भइआएकोमा सरकार सहयोगी बनेको उनको भनाई छ ।

जोशीले सरकारले तत्काल गुठी विधेयक फिर्ता नलिए गम्भीर अवस्था आउने बताए । उनले भने, ‘भूमाफियालाई फाइदा पुग्ने विधेयक तत्काल फिर्ता लिएमा सरकारको कल्याण हुन्छ ।’ गुठीको मूल मर्ममाथि प्रहार भएको भन्दै जोशीले गुठी विधेयकले काठमाडौंभित्र मात्र नभई बाहिर पनि प्रभाव पारेको बताए ।
गुठी संस्कृतिसँग जोडिएकाले सरकारले त्यसविरुद्ध गतिविधि चलाएको आरोप उनको छ । जोशीले काँग्रेसले गुठी विधेयकविरुद्धको आन्दोलनको समर्थन गरेको भन्दै जनताभन्दा माथि कोही हुन खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

Advertisement

Advertisement

Advertisement