तिलिचो ताल जोड्ने सडक निर्माण शुरु

Advertisement

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँदेखि संसारको सबैभन्दा उच्चस्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माण शुरु भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले ठिनीदेखि तिलिचो ताल नजिकै पर्ने नमखुलेकसम्म सडक पुर्याउन ट्रयाक खोल्ने काम शुरु गरेको हो । यसअघि ठिनीदेखि ताङदुङसम्म साढे दुई किलोमिटर सडक निर्माण भइसकेको थियो ।

यसअघि निर्माण भएको सडकलाई स्तरोन्नति र नयाँ ट्र्याक निर्माण शुरु गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताए। उहाँका अनुसार यस वर्ष तीन किलोमिटर सडकको ट्र्याक खोल्ने लक्ष्य रहेकामा साढे एक किलोमिटरको ट्र्याक खोलेर भोटोभाङ भन्ने ठाउँसम्म सडक पुगेको हो ।

रु ५० लाख विनियोजित यो योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको छ । आगामी वर्ष पनि थप बजेट विनियोजन गरेर तिलिचो तालको आधार शिविरको रूपमा चिनिने नमखुलेकसम्म सडक पुर्याउने प्रदेश सांसद चन्द्रमोहन गौचनले बताए । ठिनीदेखि नमखुलेक पुग्न अहिले चार घण्टा हिँड्नुपर्छ । सडक पुगेपछि यात्राअवधि एक देखि डेढ घण्टामा छोटिने छ । नमखुलेकदेखि तिलिचो ताल पुग्न तीन घण्टा र तालबाट नमखुलेक फर्कन दुई घण्टा लाग्छ । अहिले ठिनीदेखि दुई दिन पैदल हिँडेर तिलिचो ताल पुग्न सकिन्छ ।

सडक र यातायात सुविधा भएपछि एकै दिनमा आवतजावत गर्न सक्नेछन् । आवतजावत सहज हुने र पर्यटक आगमन बढ्ने वडाध्यक्ष वीरेन्द्र थकालीले बताउनुभयो । मुस्ताङ हँुदै तिलिचो ताल जोड्ने सडक छोटो दूरीको हुने जनाइएको छ । मनाङको नेस्याङ गाउँपालिकामा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ । मुक्तिनाथ, तिलिचो, नीलगिरिलगायत हिमालको फेदीमा रहेको तिलिचो ताल पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement