मिस टुरिजमका लागि आवेदन खुल्यो, १८ देखि २५ बर्षका युवतीले भाग लिन पाउने

Advertisement

काठमाडौं । मिस टुरिजम–२०१९ को आवेदन असार ६ गते शुक्रवारबाट खुल्ला गरिएको छ । मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रालिले पत्रकार सम्मेलन गरी यस वर्षको मिस टुरिजमको आवेदन खुल्ला भएको जानकारी दिएको हो ।

प्वाईन्ट मिडियाले सन् २०१६ देखि नेपालमा मिस टुरिजमको आयोजना गर्दै आईरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने, सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले “मिस टुरिजम–२०१९” को आयोजना गरिएको प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नविन काफ्लेले बताए । यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ ।

आगामी साउन २५ का दिन आयोजना हुने “मिस टुरिजम–२०१९” का लागी आवेदन खुल्ला गरिएको हो । १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली युवतीले आगामी असार २० गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदन दिने मिति सकिएपछि काठमाडौंका साथै पर्यटकीयस्थलहरु पोखरा र चितवनमा समेत अडिसन लिईने छ ।

मिस टुरिजमलाई नगद पचास हजार रुपैयाँ, मिस टुरिजम फस्ट रनर अपलाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अपलाई नगद २० हजार रुपैयाँ प्रदान गरिनुका साथै विभिन्न ब्राण्डका एम्बेसडर बन्ने अवसर दिइने छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले अन्तर्राष्ट्रिय रुपमा समेत अभ्यास भइरहेको मिस टुरिजमजस्ता प्रतियोगिताले पर्यटन प्रवद्र्धनका लागि मात्र नभई महिला नेतृत्व विकासमा समेत टेवा पुग्ने बताए । उनले भ्रमण वर्षको सन्दर्भमा प्रतियोगिता उपयोगी हुने भन्दै यसलाई सफल बनाउन सबै निकायको सक्रियताको खाँचो रहेको औंल्याए ।

पर्यटन बोर्डका सञ्चालक दीपक महतले मिस टुरिजमका विजेताहरुलाई नेपाल पर्यटन वोर्ड लगायतका अन्य संस्थाहरुले सहि ढंगले उपयोग गर्न नसकेको बताए । उनले यसलाई अझ बृहत र व्यापक सहभागिताका साथ सम्पन्न गर्न सुझाव समेत दिए ।

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्व अध्यक्ष रामकाजी कोनेले मिस टुरिजमले नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष चन्द्र रिजालले मिस टुरिजमलाई व्यवसायिक प्रवद्र्धनको रुपमा स्थापित गरिनुपर्ने बताए ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्चका पूर्व अध्यक्ष कमल सापकोटा, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य रामशरण थपलियाले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पनि प्रतियोगिताको उपयोग गर्नसक्नुपर्ने बताए ।

टानका पूर्व महासचिव सागर पाण्डेले पर्यटनको महत्वपूर्ण प्रडक्टका रुपमा रहेको प्रतियोगितालाई ताज पहिर्याउने मात्र नभई उनीहरुको क्षमतालाई पर्यटन क्षेत्रले सदुपयोग गर्नसक्नुपर्ने बताए । पर्यटन व्यवसायी राजन सिंखडाले यो प्रतियोगिताले अझ बृहत र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्रका सम्पूर्ण संघ–संस्था र निकायहरुको सहयोग आवश्यक रहेको बताए ।

नेपाल पर्यटन वोर्डका सञ्चालक पम्फा धमला, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री, नाट्टाका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई, टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, नेपाल योग एशोशियसनका उपाध्यक्ष अञ्जन थापा, मिस टुरिजमका विजेताहरु, पर्यटन व्यवसायी उपस्थित थिए ।

Advertisement

Advertisement

Advertisement