अख्तियारका जासुसको पछाडि अर्को जासुस

Advertisement

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगभित्र दुई जासुस संयन्त्रलाई समानान्तर रूपमा सक्रिय पारिएको छ। घुसलगायत गैरकानुनी लेनदेन गतिविधिमा संलग्न सार्वजनिक पद धारण गरेका कर्मचारीमाथि निगरानी गर्न आयोगले एसपीको कमान्डमा सादा पोशाकका प्रहरीलाई ‘स्टिङ अपरेसन’ मार्फत परिचालन गर्दै आएकोमा प्रमुख आयुक्त नवीन घिमिरेले आफ्नै कर्मचारीमाथि निगरानी गर्न ‘प्रतिजासुस युनिट’ गठन गरेका हुन्।

स्टिङ अपरेसनको नेतृत्व पछिल्लो समय एसपी हेम थापाले पाएका छन्। प्रतिजासुस संयन्त्र भने अर्का एसपी प्रवीण पोखरेलको नेतृत्वमा छ। तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पनि प्रतिजासुस संयन्त्रलाई सार्वजनिक पद धारण गरेका कर्मचारीदेखि पदाधिकारीसम्मको निगरानीमा खटाएका थिए।

आयोगबाट कार्की बाहिरिएसँगै प्रतिजासुस संयन्त्र हटेको थियो। तर पछिल्लो पटक प्रमुख आयुक्त घिमिरेले पनि कार्कीकै पालामा जसरी सुराकी परिचालन गर्न जासुस संयन्त्र बनाएका हुन्। कार्कीका पालामा प्रहरीको भूमिकालाई बढाएर निजामती संयन्त्र कटौती गरिएको थियो। प्रतिजासुसले निगरानी थालेपछि आयोगका कर्मचारी नै असन्तुष्ट बनेको उच्च स्रोतले जानकारी दियो। जासुसको निगरानीमा परेपछि अनुसन्धानमा संलग्न कर्मचारीहरू औपचारिकबाहेक खुल्न छोडेका छन्।

आफूहरूमाथि निगरानी थालिएपछि एक कर्मचारीले प्रतिजासुसप्रति असन्तुष्टि जनाउँदै ‘हामीमाथि प्रतिजासुसको निगरानी छ, सामाजिक सञ्जालदेखि सम्पर्कका अन्य माध्यममा कुरै नगरौं,’ भन्दै पन्छिन खोजे। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पनि यस विषयमा प्रतिक्रिया दिन मानेनन्। ‘यस विषयमा मलाई नसोध्नुहोला,’ उनले भने।

आयोगका नीति÷निर्णय तथा कारबाहीसम्बन्धी आयोगबाट जारी भएका लिखित निर्णय तथा दस्तावेज नै आधिकारिक भन्दै अन्य विषय नसोध्न उनले आग्रह गरे।
आयोगअन्तर्गत डिआइजीको नेतृत्वमा प्रहरी महाशाखा छ। महाशाखा प्रमुख डिआइजीले स्टिङ अपरेसनको संयन्त्रलाई आवश्यकताअनुसार आदेश दिन सक्छ। तर प्रतिजासुस युनिटलाई डिआइजी मातहत नभई प्रमख आयुक्त घिमिरेको कमान्ड÷कन्ट्रोलमा राखिएको छ।

प्रतिजासुसलाई अख्तियारकै कर्मचारीसहित शंका लागेका उच्च पदस्त अधिकारीको समेत निगरानी गर्नेगरी जिम्मेवारी दिइएको छ। ‘केन्द्रीय कार्यालयमा बसेर भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा संलग्नदेखि फिल्डमा खटिएका कर्मचारीसम्मका गतिविधिमा सूक्ष्म निगरानी गर्नकै लागि प्रतिजासुस संयन्त्र सक्रिय पारिएको हो,’ आयोग उच्चस्रोतले भन्यो, ‘भ्रष्टाचारविरुद्धको अभियानलाई चुस्त बनाउन आवश्यकता अनुसार संयन्त्र तैनाथ हुनेछन्।’ तत्कालीन आयुक्त राजनारायण पाठकले अख्तियारमै बसेर मुद्दा मिलाइदिने भन्दै अनियमिततासम्बन्धी उजुरीमा आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए।

पछिल्लो पटक बहुचर्चित बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा गर्ने क्रममा अनुसन्धान महाशाखा प्रमुख (सहसचिव) हरिप्रसाद जोशीलाई पदीय आचरणविपरीत काम गरेको आरोपमा प्रमुख आयुक्त घिमिरेले जिम्मेवारीबाट हटाउँदै महान्यायाधिवक्ताको कार्यालयमा फिर्ता पठाइदिएका थिए। जोशीलाई फिर्ता पठाएपछि प्रमुख आयुक्त घिमिरेले अनुसन्धान अधिकृतहरूलाई बोलाएर अनुसनन्धानमा मोलमोलाइ गर्ने, मुद्दा कमजोर पार्ने, प्रलोभनमा परेर तामेलीमा पठाउन सिफारिस गर्नेलगायत निर्णय गरेको पाइए ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिएका थिए।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement