दात्री निकाय र आईएनजीओको पैसामा वनका कर्मचारी विदेश घुम्याघुम्यै, मन्त्रीलाई पनि अवसर

Advertisement

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका उच्चपदस्थका लागि विदेश पानीपँधेरो हुने गरेको छ । गत एक वर्षमा कार्यक्रममा सहभागी हुने नाममा कर्मचारीहरू सातपटकसम्म विदेश गएका छन् । उनीहरू प्रायः दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)को पैसामा विदेश सयर गर्ने गर्छन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नै एक वर्षमा चारपटक विदेश यात्रा गरे । उनी बेलायत, इथियोपिया, पोल्यान्ड र अस्ट्रेलिया पुगे । उनी एकपटक मात्र सरकारी खर्चमा विदेश गएका हुन् भने तीनपटक आइएनजिओको पैसामा ।

यस्तै, सचिव डा. विश्वनाथ ओली पाँचपटक विदेश गए । उनले थाइल्यान्ड, जापान, श्रीलंका र दुईपटक दक्षिण कोरियाको भ्रमण गरे । पाँचैपटक उनी दातृ निकायको पैसामा विदेश गएका हुन् । अहिले वन तथा वातावरण मन्त्रालयमा मात्रै १६ वटा दातृ निकाय र १५ वटा आइएनजिओले काम गरिरहेका छन् । मन्त्री र कर्मचारी कर्मचारी दातृ निकाय र आइएनजिओका कन्सल्ट्यान्ट बसेका छन् । त्यसैले ती संस्थाले मन्त्री र कर्मचारीलाई कार्यक्रमका नाममा विदेश घुमाउने गरेका छन् । यसरी विदेश भ्रमणको लोभमा सचिव र सहसचिव जुनसुकै कार्यक्रममा सहभागी हुन जाँदा देशको नूरसमेत गिर्ने गरेको वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले बताए ।

सबैभन्दा धेरै विदेश घुम्नेमा सहसचिव ढुंगाना र ढकाल
वन तथा वातावरण मन्त्रालयबाट सबैभन्दा धेरै विदेश घुम्ने कर्मचारीमा सहसचिव सिन्धुप्रसाद ढुंगाना र डा. महेश्वर ढकाल छन् । दुवैजना एक वर्षकमा सातपटक विदेश गइसकेका छन् । ढुंगानाले इटली, मंगोलिया, मोरक्कोको एक–एकपटक तथा जर्मनी र अमेरिकाको दुई–दुईपटक भ्रमण गरेका थिए । यस्तै, ढकाल एक वर्षको अवधिमा थाइल्यान्ड, पोल्यान्ड, इथियोपिया, डेनमार्क, जापान, मोरक्को र जर्मनी पुगेका थिए ।

विदेश जाने कर्मचारीको सूची वेबसाइटमा राखेन

मन्त्रालयले विदेश जाने कर्मचारीको सूची आफ्नो वेबसाइटमा राख्ने घोषणा गरेको थियो । तर, अहिलेसम्म कुन कर्मचारी कतिपटक विदेश गए, त्यसको जानकारी सार्वजनिक गरिएको छैन । हरेक महिना विदेश भ्रमणको जानकारी वेबसाइटमा राख्ने भनिए पनि नसकिएको मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले बताए ।

को कतिपटक विदेश गए ?
रेड कार्यान्वयन केन्द्रकी प्रमुख राधा वाग्ले म्यानमार, पोल्यान्ड र अमेरिका तथा दुईपटक जर्मनी गरी ६ पटक विदेश गइन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का र उपमहानिर्देशक गोपालप्रकाश भट्टराई पाँच–पाँचपटक विदेश गएका थिए । खड्का थाइल्यान्ड, बेलायत, स्विट्जरल्यान्ड र दुईपटक माल्दिभ्स तथा भट्टराई दुबई, भारत, श्रीलंका र दुईपटक माल्दिभ्स गएका थिए । यस्तै वन विभागका महानिर्देशक रामप्रसाद लम्साल र सहसचिव यज्ञनाथ दाहाल चार–चारपटक विदेश गएका थिए । दाहाल इजिप्ट, फिलिपिन्स, इक्वेडर र स्विट्जरल्यान्ड तथा लम्साल सिएरालियोेन, दक्षिण कोरिया, किरिबाटी र अस्ट्रिया गएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेल दुईपटक भारत, एकपटक भुटान तथा वन अनुसन्धान तथा सर्वेक्षण विभागका महानिर्देशक दीपक खराल, तत्कालीन वातावरण विभाग महानिर्देशक भलकराम अधिकारी, वन विभागका उपमहानिर्देशक डा। राजेन्द्र केसी, सहसचिव चन्द्रमान डंगोल दुई–दुईपटक विदेश गएका छन् । एकपटक विदेश जानेमा सहसचिव कृष्णप्रसाद आचार्य, धनञ्जय पौडेल, सुधीर कोइराला, चन्द्रमान श्रेष्ठ, वनस्पति विभाग महानिर्देशक सञ्जीवकुमार राई, वन अनुसन्धान तथा सर्वेक्षण विभागका उपमहानिर्देशक बुद्धिसागर पौडेल, वातावरण विभागका उपमहानिर्देशक यमप्रसाद पोखरेल छन् ।

उपसचिवबाट धेरै विदेश घुम्नेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका विष्णुप्रसाद श्रेष्ठ छन् । उनी नामिबिया, भारत, भुटान, अजरबैजान पुगेका थिए । उपसचिव सागर रिमाल, डा. अरुणप्रकाश भट्ट र चितवन राष्ट्रिय निकुञ्जका वेदकुमार ढकाल तीनपटक विदेश गएका थिए । दुईपटक विदेश जानेमा उपसचिव रेवती सापकोटा विमलकुमार आचार्य, विष्णुलाल घिमिरे, कोमलबहादुर खत्री, रामहरि पन्त, सञ्चय तिवारी, सुमन सुवेदी, सिर्जना श्रेष्ठ, सञ्जीवकुमार न्यौपाने, हरिभद्र आचार्य, गणेशबहादुर शाही छन् । मन्त्रालयका अन्य ६३ जना उपसचिव एकपटक विदेश गएका छन् । यस्तै अधिकृत तहबाट सबैभन्दा धेरै विदेश जानेमा वसन्तबाबु श्रेष्ठ, भूपेन्द्रप्रसाद यादव र रामप्रसाद अवस्थी दुई–दुईपटक विदेश गएका छन् ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement