प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह

Advertisement

काठमाडौं । दश वर्ष मलेसियामा काम गरी फर्केका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहेका छन् ।

मलेसियामा श्रम गरेर फर्केका उनले भने पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य भएका थिए । हाल उनी नगरपालिकाले तोकिएको मापदण्डअनुसारको सडकको सीमाङ्कन तथा मर्मत गर्ने काममा अवसर पाएपछि यतिबेला सोही काममा व्यस्त भएका छन् । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अभियान सञ्चालन गरेपछि उनी नगरपालिकामा सञ्चालन भएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ अन्तर्गत सो काममा खटिएका हुन् ।

‘विदेशमा गएर ५० किलोको बोरा पनि तान्नुपथ्र्यो, ३०० किलोको ड्रम पनि गुडाउनु पथ्र्यौ, अहिले यस्तो कामले हाम्रो लागि सहज त छ तर त्यसलाई निरन्तरता दिएमा झनै राम्रो हुनेथ्यो ।, तामाङले भने, ‘विदेशमा भन्दा आफ्नो परिवारसँगै बसेर काम गर्न पाउने अवसर र वातावरण सरकारले गरिदिन आवश्यक छ ।’

अर्का स्थानीयवासी रामबहादुर गुरुङले श्रम गर्नेका लागि कार्यक्रम राम्रो भए पनि आम युवावर्गको लागि आकर्षणको क्षेत्र नदेखिएकाले त्यसलाई अलि परिमार्जन गरेर अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । “हामी त जे काम गर्न पनि तयार छौँ, तर पछिल्ला समयका युवा पढेर कि जागिर नै खाने कि त विदेश नै जाने भन्ने उनीहरुको लक्ष्य नै हुने भएकाले त्यस्तालाई पनि यही काम गरेर केही गर्न सकिन्छ भन्ने खालको कार्यक्रम पनि ल्याउन आवश्यक छ ।” उनले भने ।

उता बेथानचोक गाउँपालिका–४ पार्थलीका अनु श्रेष्ठले आफ्नो गाउँको विकासको लागि सबै साथीहरु मिलेर काम गर्न पाउँदा खुशी लागेको बताए । कक्षा १२ को परीक्षा सकाएर बसेका उनी काम गरेर पैसा पनि पाउने र विकास पनि हुने भएकाले श्रम गर्नुपर्दा पनि निकै खुशी भएको बताँछन् ।

अर्का स्थानीयवासी निलम श्रेष्ठले आफ्नै गाउँठाउँमा भएको पर्यटकीय क्षेत्रको विकासको काममा सहभागी हुन पाउँदा काम पनि हुने र रोजगार पनि मिल्ने भएकाले आफूलाई उत्साहित बनाएको बताए । एसएलसी पास गरी गाउँमा खेतीपातीको काम गर्दै आएका उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँको पर्यटकीय गुम्बुडाँडामा जाने सिंढी निर्माणको काम पाएका छन् ।

जिल्लाको पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा सो अभियान सञ्चालन भइरहेको छ । बेरोजगार मान्छेलाई छोटो अवधिको लागि रोजगार प्रदान गर्ने गरी सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत स्थानीय तहले असार मसान्तभित्रमा सकाउने गरी रोजगारमा लगाउने अभियान सञ्चालन भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा ६० जना, बेथानचोक गाउँपालिका वडा नं ४ मा १६ जना र नमोबुद्ध नगरपालिकामा ८० जनाले श्रममा आधारित रोजगार कार्यक्रममा सहभागिता जनाइरहेको छन् । जसअन्तर्गत मण्डनदेउपुर नगरपालिकाले तोकिएको मापदण्डअनुसारको सडकको सीमाङ्कन तथा मर्मत, विद्यालय परिसरको काम, सिँचाइ र खानेपानी मुहान मर्मतलगायतका काममा लगाइने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement