देशभर विदेशी च्यानल बन्द (सूचनासहित)

Advertisement

काठमाडौं । दुई दिनका लागि विदेशी च्यानलहरुको प्रशारण बन्द भएको छ। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो।

महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार अपह्रान्ह ३ बजेसम्म च्यानलहरु बन्द रहनेछ। विज्ञापनरहीत च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ।

प्रस्तावित विज्ञापन ऐन २०७६ अनुसार विदेशी च्यानलहरु क्लिन फिड हुनुपर्ने प्रावधान अनुसारको व्यवस्था लागू गर्दा हुन आउने परिस्थितिको बारेमा ग्राहकलाई जानकारी गराउन विज्ञापन प्रसारण हुने विदेशी च्यानल बन्द गरिएको इन्टरनेट तथा टिभी समन्वय समिति र नेपाल केवल महासंघले जनाएका छन् ।

सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विद्येयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका हुन् । यसअघि नै केवल टीभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका थिए ।

नेपालमा प्रसारित च्यानलहरु मध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् । इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको अवस्थामा डिजिटाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने महासंघको दावी छ ।

नेपाल सरकारले चाहे जस्तो नियम लागु गर्दा नेपालमा सर्वाधिक रुचाइएको च्यानलहरु कलर्स, स्टार प्लस, जी टीभी लगायतका सम्पूर्ण मनोरञ्जनात्मक च्यानलहरुका साथै खेलकुद प्रेमीहरुले मन पराएका फुटबल, क्रिकेट लगायत अन्य खेलहरु प्रशारण गरिने स्टार स्पोट्र्स, सोनी टेन लगायतका च्यानलहरु पनि नेपाली जनताले हेर्न नपाउने महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement