करदाता सेवा कार्यालय गाईघाटमा ३२ करोड राजस्व संकलन

Advertisement

उदयपुर । करदाता सेवा कार्यालयले गाईघाटले चालु आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा ३२ करोड राजस्व संकलन गरेको छ । गत बर्षको तुलनामा राजस्व असुलीमा उल्लेख्य प्रगति हासिल गर्दै चालु आवको साउनदेखि जेठसम्म ३२ करोड उठाएको हो । गत आर्थिक वर्ष ०७४/७५ मा ३० करोड ६३ लाख ८३ हजार कर संकलन गरेको करदाता सेवा कार्यालयका प्रमुख सुमन बुढाथोकीले बताए ।

उनले चालु आर्थिक वर्षको जेठ महिनासम्म ३२ करोड ४६ लाख ८६ हजार राजस्व असुली गरेको बताए । सबै भन्दा बढी आयकर वापत १६ करोड ३३ लाख असुल गर्न सफल भएको छ । हामीले गत आर्थिक वर्षमा १६ करोड आय कर संकलन गरेका थियौ । उनले भने, ‘गत बर्ष असुली गरेको रकम एक महिना अगाबै उठाउन सफल भएको छौ, मूल्य अभिबृद्धि कर असुलीमा भने गत बर्षको भन्दा चार करोड भन्दा बढि राजस्व उठाएका छौँ ।

सेवा कार्यालयले गत आवमा आठ करोड ६४ लाख मूल्य अभिबृद्धि कर संकलन गरेकोमा जेठ महिना सम्म मात्रै १२ करोड ५३ लाख मूअकर संकलन गरेको छ । जेठ महिनासम्ममा बहाल करबाट ७१ लाख ८ हजार, व्यजवापत २२ लाख ७४ हजार, अन्त शुल्क बाफत २ करोड ७६ लाख, स्वास्थ्य सेवा शुल्क बापत २ लाख ७० हजार र शिक्षा सेवा शुल्क बापत १६ लाख ५३ हजार राजस्व संकलन गरेको छ ।

गत बैशाख महिनामा मात्र सरुवा भइ आएका कर अधिकृत बुढाथोकीले कर शिक्षा कार्यक्रमहरु अघि बढाएपछि करको दायरामा आउने करदाताको संख्यामा समेत बृद्धि भएको छ । जसमा आर्थिक वर्ष ०७५/०७६ को चैत्रसम्ममा २ हजार ६ सयबाट बढेर तीन हजार २ सय ८५ पुगेको छ । कर शिक्षा कार्यक्रम प्रभावकारी भएको करदाताको संख्या बढेको छ,’ उनले भने, ‘जिल्लाको चार नगरपालिका चारै वटा गाँउपालिकामा कर शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कर सेवा कार्यालयका अनुसार कटारीको घुर्मी बजार, रौतामाई गाँउपालिकाको मुकुर्ची, रौता बजार, त्रियुगा नगरपालिकाको साउने, गाईघाट, बेलका नगरपालिकाको रामपुर, चौदण्डीगढी नगरपालिकाको बेल्टार लगायतका बजारमा कर शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।

Advertisement

Advertisement

Advertisement