सडकमा ढुवानीका सवारी साधन बिग्रिएमा तत्काल मर्मत गर्न ई–ट्रान्सपोर्टेशन सर्भिस सुरु

Advertisement

काठमाडौं । सुचना प्रविधिको उपयोगमार्फत देशभर सामान ढुवानी सेवालाई सहज बनाउन ई–ट्रान्सपोर्टेशन सर्भिस प्रालिले नेपालेट्स डटकम नामक अनलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

निजी सवारी साधन प्रयोगकर्तालाई सडकमा सवारी साधन बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सामान्य प्रशासनमन्त्री लालबाबुर पण्डितले यस सेवाको उद्घाटन गरे । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहाललगायत सहभागी थिए ।

मन्त्री पण्डितले नविनतम सोचका साथ सुरु भएको उक्त सेवाको सफलताको शूभकामना व्यक्त गरे । उनले वर्तमान सरकार पनि ई–गभर्नेन्सतर्फ अघि बढिरहेको सुनाए । पण्डितले भने, ‘हामी ई–गभर्नेन्स प्रणालीमा छिटो जान चाहन्छ । र, निजी क्षेत्रबाट जुन यो प्रयास भएको छ । अझै धेरै प्रयास हुन जरुरी छ ।’

विभागका महानिर्देशक दाहालले कम्पनीको यस थालनीसँगै सामान ढुवानी क्षेत्रमा भएका समस्या तथा विसंगतीहरु न्यूनिकरण गर्न सहयोग पुग्ने बताए । उनले भने, ‘यातायात क्षेत्रमा भएका सबैखाले समस्या र विकृति तथा विसंगतीहरुको अन्त्यको लागि सरकार र निजी क्षेत्र दुवै मिलेर सहकार्य गर्नुपर्छ ।’

कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हामीले वेबसाईट र मोबाइल एप्लिकेसनबाट सेवा प्रदान गर्ने छौं । सेवा लिनका लागि सामान ढुवानी गर्ने गराउने दुवै पक्ष व्यक्ति, कम्पनी र गाडी चालकले वेभसाइट वा मोबाइल एप्लिकेसनमा रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ । रजिष्ट्रर भइसकेपछि सेवाग्राहीले घर, अफिस अथवा जहाँसुकैबाट आफूलाई चाहिएको सेवा लिन ई–ट्रान्सपोर्टेशन सर्भिसमा खबर गर्न सकिने छ । ई–ट्रान्सपोर्टेशन सर्भिसले दुवै पक्षको माग र आवश्यकता पुरा गर्न मध्यस्तकर्ताको भूमिका खेल्ने छ ।’

Advertisement

Advertisement

Advertisement