उर्जामन्त्रीले चिनियाँ राजदूतलाई सोधे– तपाईंका कम्पनीहरु किन समयमा काम गर्दैनन् ?

Advertisement

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियां राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चासोका विषयमा छलफल भएको थियो ।

चिनियाँ लगानीकर्ता र निर्माण कम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडीको कारणबारेमा जिज्ञासा राखेका छन् । जवाफमा राजदूत यान्छीले चिनियां कम्पनिले भोगेका समस्याहरुको वारेमा जानकारी दिंदै त्यसवारेमा आफुले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताईन् ।

भेटमा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र बजार विस्तारको लागी पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागी पहल गरिदिन आग्रह गरेका छन् । उनले सरकारले जलविद्युतको लागी भारत र वंगलादेशमा बजारको लागी पहल जारी राखेको जानकारी समेत दिएका छन् ।

‘नेपालमा जलविद्युत क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र बजार विस्तारका लागी हामी पहल गरिरहेका छौं, भारत र बङगलादेशसंग समेत यसबारेमा छलफल भइरहेको छ । यसमा चिनियां लगानीकर्ताको सकरात्मक सहयोग आवश्यक छ ।’ मन्त्री पुनले भने ।

मन्त्री पुनले राजदूतसंगको भेटमा भने, ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । यहां किन गर्न सकिरहेका छैनन् । समस्या के हो जस्का कारण काममा ढिलाई भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौं, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौ । ’

उनले चिनियां कम्पनीले निर्माण गरिरहेको त्रिशुली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिंदै आयोजना सम्पन्न गर्नको लागी समन्वय गरिदिन आग्रह गरे ।

मन्त्री पुनले दुधकोशी जलविद्युत आयोनामा हाल विश्व बैंकले पाच सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजाना सम्पन्न गर्नको लागी थप दुई खर्ब अपुग भएकोले चिनियां सहयोगको लागी पहल गरिदिन आग्रह गरे ।

भेटमा चिनियां राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधिन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागी चीनले पहल गरिरहेको जानकारी दिईन् ।

उनले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियां कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारी समेत दिए । राजदूत यान्छीले भने ‘ चीन नेपालको सांच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ । त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागी पहल गरिरहेको छ । ’

चिनियां कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिषा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण, लगायतका समस्या भोगिरहेको चिनियां राजदूतको भनाई थियो ।

भेटमा राजदूत यान्छीले नेपालमा हाल स्थिर सरकार रहेको र अरु चार वर्ष सरकारसंग समय रहेको भन्दै यो अवधीमा नेपालले वढीभन्दा बढी उपलव्धी हासिल गर्छ भन्नेमा आफु आशावादी रहेको धारणा राखे ।

मन्त्री पुन र राजदूत यान्छीबीचको भेटमा जलविद्युत क्षेत्रको लगानी र दुवै मुलुकको बीचमा गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो ।

Advertisement

Advertisement

Advertisement