‘मन्त्रीहरु मात्रै होइन्, प्रम पनि फेरिनुपर्छ, पार्टी एक बनाइराख्ने भए प्रचण्डलाई प्रम बनाऔं’

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने दावी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताएका हुन् । उनले पार्टी एकता गर्दानै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्ने बताए ।

पौडेलले भने, ‘हामी एकताको पक्षमा छौं । एकता रहरको लागि गरिएको होईन । त्यसैले विगतमा भएका सहमति ईमानदारिताका साथ कार्यान्वयन गर्नुपर्छ ।’ उनको आशय नेकपाका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नबनाउने हो भने पार्टी पनि एक नहुने थियो । पौडेलले वर्तमान सरकार पाँच वर्षसम्मको लागि निर्वाचित भएकोले तत्काल स्थानीय, प्रदेश र संघमा सरकार फेरबदल हुने अवस्था नरहेको पनि जिकिर गरे ।

यद्यपी संघीय सरकार भने पार्टीको निर्णयका आधारमा फेरबदल गर्न सकिने पौडेलले स्पष्ट पारे । उनले भने, ‘सरकारको कामलाई प्रभावकारिता बनाउनको लागि पनि मन्त्रिमण्डल फेरबदल गर्न सकिन्छ । तर, सरकार नेकपाकै नेतृत्वमा बन्छ ।’

सरकारको काम सुशासनको क्षेत्रमा अझै राम्रो हुनुपर्ने भनेर जनस्तरबाटै गुनासो आईरहेको सुनाउँदै पौडेलले त्यसप्रति सरकार गम्भिर बन्नुपर्ने बताए । उनले भने, ‘सरकारले सुशासनको क्षेत्रमा शुन्य सहनशीलता अपनाउनुपर्छ ।’

भ्रष्टाचार न्यूनिकरणको लागि पनि त्यस्तै गम्भिर पहलकदमी चाल्नुपर्ने पौडेलको भनाई थियो । उनले भने, ‘भ्रष्टाचार न्यूनीकरणको लागि विपक्षीले उठाएको आवाज स्वागतयोग्य छ ।’

उनले गुठी विद्येयकलगायतका अन्य कुनै पनि विद्येयक खारेज नभएको सुनाउँदै तत्कालको लागि स्थगन् गरिएको पनि स्पष्ट पारे । पौडेलले संघीय संसदबाट बजेट पारित भएको सुनाउँदै आजबाट देशैभरिका ७५३ वा गाउँपालिकाहरुले बजेट बनाउने पनि सुनाए ।

Advertisement

Advertisement

Advertisement