‘क्लिन–फिड’ लागू गर्ने सरकारको प्रसंशनीय निर्णयको केवल टिभी सञ्चालकबाट भने विरोध

Advertisement

काठमाडौं । केवल टिभी सञ्चालकहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागु गर्न लागेको भन्दै यससम्वन्धी विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै धराशयी हुने जिकिर गरेका छन् ।

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले मंगलबार रिपोर्टर्स क्लबमा राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ‘क्लिन–फिड’ लागु गर्न लागेको आरोप लगाए ।

उनले भने, ‘यही अवस्थामा यो विद्येयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी बन्छ । सरकारले हचुवाको भरमा कुनै गृहकार्य नै नगरी यो नीति ल्याएको हो । राष्ट्रिय प्रशारण ऐनमार्फत आउनुपर्ने कुरा विज्ञापन ऐनमार्फत ल्याउन खोजियो । यसो गर्नु भनेको भएको उद्योग नै धराशाय बनाउनु हो ।’

सुवेदीले सरकारले भिजिट नेपाल २०२० मनाउन गइरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत प्रचारप्रसार गर्नुपर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद् भएको भन्दै विदेशी विज्ञापनको ठाउँमा नेपाली विज्ञापन बजाउने हो भने आफुहरुलाई कुनै आपत्ति नहुने पनि बताए ।

‘क्लिन–फिड’ लागु भए नेपालका लोकल मिडिया पनि बन्द हुने अवस्था आउनसक्ने उनको भनाई छ । विद्येयकका बारेमा छलफल गर्नको लागि विभागीय मन्त्रीसँग भेट्न खोज्दा भेट नै नदिईएको पनि सुवेदीले गुनासो पोखे ।

सरकारले जतिसक्दो चाँडो आफूहरुसँग वार्ता तथा सम्वाद गर्नुपर्ने उनको भनाई छ । ‘सरकारले के गर्न चाहेको हो भन्ने कुरा नै क्लियर छैन’– सुवेदीले प्रश्न गरे ।

डिस होमका प्रवन्ध निर्देशक सुदिप आचार्यले क्लिन फिड विश्वभरि छ भनेर हौवा फैलाईएको बताए । क्लिन फिड लागु भए नेपाली च्यानल मात्रै हेरेर आफूहरुले केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ । आचार्यले भने, ‘यदि यो विद्येयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई बुझाउँछौं ।’

नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधिर पराजुलीले विज्ञापन विधेयक अव्यावहारिक रहेको बताए । उनले केवल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक किन ल्याईयो ? भन्दै प्रश्न समेत गरे ।

पराजुलीले भने, ‘यदि यो विधेयक संसदबाट पारित भई ऐनका रूपमा आयो भने हाम्रो अरवौंको लगानी डुब्छ र हामीले व्यवसाय बन्द गर्नुपर्छ ।’ उनले क्लिनफिड लागू हुँदा सेवा दिन सकिन्छ या सकिँदैन भनेर परीक्षणस्वरूप आफूहरुले हिजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म २४ घण्टा विदेशी च्यानल बन्द गरेको तर्क गरे ।

सशुल्क च्यानल वितरकका ध्रुब शर्माले क्लिन फिड लागु गर्नेबारे सरकारको तयारी नपुगेको सुनाए । उनले आफूहरुले सरकारको विरोध नगरेको जिकिर गरे । तर, हिजोदेखि आज दिउँसो ३ बजेसम्मे २४ घण्टाका लागि गरिएको विदेशी च्यानल वन्द रिहर्सल भएको उनको प्रतिक्रिया थियो ।

क्लिन फिड लागू गर्न विज्ञापन र मिडिया व्यवसायीहरुले लामो समयदेखि माग गर्दै आए पनि सरकारले अटेर गर्दै आएको थियो । यो नीति लागू नहुँदा मुलुकलाई अर्बौं रुपियाँ नोक्सान हुनुका साथै नेपालको कला संस्कृतिमाथि विदेशी अतिक्रमण बढ्दै गएको थियो ।

Advertisement

Advertisement

Advertisement