कर्णालीका मुख्यमन्त्री सहितका नेता चढेको सेनाको हेलिकप्टरको भाडा नेकपाले तिर्ने

Advertisement

काठमाडौं । पार्टीको बैठकमा आएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल र अन्य नेता चढेको हेलिकप्टरको भाडा नेकपा हुम्लाले तिर्ने भएको छ। नेता सेनाको हेलिकप्टर चढेको समाचार प्रकाशन भएपछि नेकपा हुम्लाले विज्ञप्ति प्रकाशित गर्दै हेलिकप्टरको दुई लाख ५० हजार भाडा पार्टीको तर्फबाट भुक्तानी गरिने उल्लेख गरेको छ।

जिल्ला अध्यक्ष लालकेश जैशीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘इतिहासकालदेखि देश र जनताको हित र अधिकारका लागि समर्पित हाम्रो पार्टीले कुनै पनि राज्यकोषबाट खर्च नहुने गरी उक्त हेलिकप्टर बापत लाग्ने रकम दुई लाख ५० हजार ब्यहोर्ने जानकारी आम नागरिकसमक्ष गराउन चाहन्छौँ।’

पछिल्लो समय पार्टी कार्यक्रममा हेलिकप्टर प्रयोग भन्ने समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको नेकपा हुम्लाले ताँजकोटको मदिरा मुक्त गाउँपालिका घोषणा कार्यक्रमका लागि हेलिमा मुख्यमन्त्रीसहित नेता आएको उल्लेख गरेको छ।

मौसमले साथ नदिएका कारण उक्त कार्यक्रम निधिरित मितिमा हुन नसकाल हेलिकप्टर प्रयोग गर्नु परेको नेकपाको दाबी छ। असार ७ गते सुर्खेतबाट कुनै पनि हवाई जहाज नआएको भन्दै नेकपाले हुम्लाका सबै सरकारी कार्यक्रममा सहभागी हुन सेनाको हेलिकप्टर प्रयोग गर्नु परेको जनाएको छ।

Advertisement

Advertisement

Advertisement