सरकारले यति राम्रो काम गर्या छ कि काँग्रेस नै डराइसक्योः मन्त्री महासेठ

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने दावी गरेका छन् । सत्तारुढ दल नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार पुनर्गठनका लागि दौडधुप गरिरहँदा महासेठले भने नहुने जिकिर गरेका हुन् । बुधबार रिपोर्टर्स उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए ।

महासेठले भने, ‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखि नै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाईएको अफवाह हो ।’

प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको महासेठको दाबी छ । उनले भने, ‘मन्त्रिमण्डल पूनगर्ठन भए पनि अध्यक्षद्धयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैले यो सम्भावना देखेको छैन । मन्त्रिमण्डल पूनगर्ठनबारे दिनहुँ नयाँ समाचार आईरहेका छन् । यसबारेको बजारिया हल्ला र प्रचण्डको कुरा एउटै छैन । अध्यक्ष प्रचण्डले बजारको हल्लाजसरी बोल्नुभएको छैन ।’

सरकार आलोपालो रुपमा चलाउनेबारे सहमति के हो ? भनेर सोधिएको प्रश्नमा मन्त्री महासेठले भने, ‘हाम्रो अध्यक्षद्धयको बीचमा भएको सहमति कसैलाई साक्षी राखेर भएको छैन ।’ अध्यक्षद्धय ओली र प्रचण्डबीच यदि सहमति भएको भए सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको पनि उनले स्पष्ट पारे । सरकार सञ्चालनबारे पनि पार्टीभित्र सहमति नै रहेको महासेठको जिकिर थियो ।

उनले भने, ‘हाम्रो पार्टीभित्र कुनै पनि अन्तरविरोध छैन । मैले बुझेअनुसार केपी ओली नै अबको पाँच वर्ष प्रधानमन्त्री हो । तर, यदि पार्टीले निर्णय गर्यो भने प्रधानमन्त्री, मन्त्री हामी सबै भोलि नै फर्किनुपर्ने हुन्छ । तर, अहिले जे बजारमा हल्ला चलिरहेको छ, यसमा कुनै सत्यता छैन । यो हल्लाको विश्वास नगर्नको लागि म आग्रह गर्दछु ।’

सरकार गठन भएको १७ महिना व्यतित भएको र यो अवधिमा सरकार कुनै पनि मोर्चामा असफल नभएको पनि उनले दाबी गरे । बरु, सरकारको काम देखेर प्रमुख प्रतिपक्षी दल कांग्रेस डराएको महासठको आरोप छ ।

उनले विकास निर्माण, समृद्धि र राजनीतिक कुनै पनि मोर्चामा सरकार असफल नभएको दावी गरे । सरकारले केही पनि काम गर्न सकेन भनेर आलोचना भएकोप्रति उनले गुनासो पोखे ।

मन्त्री महासेठले भने, ‘सरकारले जनताको चाहनाअनुरुप काम गर्न सकेन भनेर आलोचना गरिएको पनि सुनिएको छ, तर यथार्थमा त्यस्तो होईन । सरकारको पहिलो वर्ष आधार वर्षको रुपमा लिएका छौं । विकास र समृद्धि भनेको कुरा एकै वर्षमा अर्थात् रातारात हुने कुरा होईन । अब बजेट कार्यान्वयनसँगै धमाधम विकासका काम अघि बढ्छन् ।’

मन्त्री महासेठले सरकारले एक वर्षमा इतिहासमै कसैले गर्न नसकेको काम गरेर ‘रेकडर्’ नै कायम गरेको पनि दाबी गरे । उनले भने, ‘सडक, रेल, पुल–पुलेसा हामीले धेरै बनाएका छौं । नयाँ–नयाँ सडक बनाउनेदेखि ट्रयाक खोल्नेसम्मका धेरै काम गरेका छौं । यसमा पनि हामीले रेकर्ड नै कायम गरेको छ ।’

सरकारको पहिलो वर्षको दुई तिहाई समय ऐन, नियम बनाउनमा व्यतित भएको बताउँदै महासेठले अब जनतामा प्रत्यक्ष प्रभावका पार्नेगरि द्रुत गतिमा काम अघि बढ्ने विश्वास दिलाए ।

सरकारले एक वर्षमा एक हजार किलोमिटर सडक पिच गरेको, एक हजार १५ सय किलोमिटर सडक ग्राभेल गरेको र पन्ध्र सय किलोमिटर नै नयाँ ट्रयाक खोलेको पनि उनले सुनाए । महासेठले भने, ‘एक वर्षमा इतिहासमा कुनै पनि सरकारले ८ सय किलोमिटर सडक पिच गरेको थिएन । हामीले गरेर देखाएका छौं ।’
सरकारले भौतिक पूर्वाधार तथा यातायात, सञ्चार, कृषि, पर्यटनलगायत सबै क्षेत्रमा फड्को मारेको महासेठको दाबी छ । यद्यपी उनले सरकारले गरेका राम्रा कामको जनतासामू पर्याप्त प्रचारप्रसार नभएको बताए ।

सरकारले सिन्को नै भाँचेन भन्ने नाममा सरकारमाथि चौतर्फी घेराबन्दी भएको महासेठको भनाई छ । तर, सरकारका विरोधमा गरिएको आलोचनामा कुनै दम नभएको उनको दाबी छ ।

सरकार बनेको एक वर्षभित्रमा नै ७ प्रतिशतको आर्थिक वृद्धि भएको सुनाउँदै उनले अर्को आर्थिक वर्षभित्र ९ प्रतिशतको वृद्धिदर पुर्याउने घोषणा गरे । आगामी चार–पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हाँसिल गर्नेपनि उनले दाबी गरे ।

दोहोरो अंकको आर्थिक वृद्धिदर नारा र गफ गरेर मात्रै हाँसिल हुँदैन भन्ने कुरामा सरकार सचेत रहेको बताउँदै महासेठले अब द्रुत गतिमा विकास निर्माणका कामहरु अघि बढाईने विश्वास दिलाए ।
उनले सरकारले रेलमार्ग निर्माणको कामपनि तिव्र गतिमा अघि बढाईरहेको सुनाए । उनकाअनुसार पुर्व–पश्चिम रेलमार्गको डि.पि.आर.को काम धमाधम भैरहेको छ । देशैभरिका रेल मार्ग निर्माणको लागि धमाधम काम भैरहेको महासेठको भनाई छ । आगामी दश वर्षभित्र २ हजार ८ सय किलोमिटर रेलमार्गले देशलाई जोड्ने पनि मन्त्री महासेठले घोषणा गरे ।

त्यस्तै, उनले जनकपुर–जयनगर रेल सञ्चालनको अन्तिम तयारी भैरहेकोले छिट्टै भारतबाट दुई सेट रेल ल्याउने जनाए । यातायात क्षेत्रमा रहेका सबैखाले विकृति तथा विसंगतिहरु अब हल गर्नेगरि यातायात प्राधिकरण गठन हुन गइरहेको र त्यससम्बन्धी विद्येयक संसदमा जान लागेको पनि उनले सुनाए ।

निर्माण व्यवसायीहरुले अघि सारेका जायज सुझावहरुलाई सरकारले मनन गर्ने उनले विश्वास दिलाए । सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेकोले यसमा व्यवसायीहरुको जायज सुझावलाई सरकारले ग्रहण गर्ने महासेठले बताए ।
उनले भने, ‘हाम्रो देश नेपाल बनाउने भनेको नै नेपाली निर्माण व्यवसायीहरुले नै हो । अरुले आएर देश बनाउँदैन् ।’ महासेठले आफूहरुले प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर अघि बढिरहेको बताए । उनले भने, ‘हामीले बजेट ल्याउँदा पनि काँग्रेसको राय र सल्लाह लिएका थियौं ।’ उनले बजेट विकासमुखी रहेको पनि दाबी गरे । आगामी दश वर्षभित्र नेपाल मध्य विकसित राष्ट्रमा पुग्नेपनि उनले दाबी गरे ।

फरक प्रसँगमा उनले सरकारले ल्याउन खोजेको गुठी विद्येयक (हाल संसदबाट फिर्ता भएको) यथार्थमा त्यति नराम्रो नभएको जिकिर गरे । उनले भने, ‘यो विद्येयक नराम्रो थिएन । तर, सरकारलाई बद्नाम गराउन विभिन्न शक्तिहरु लागिपरे । बास्तवमा यो विद्येयक मधेशको लागि धेरै राम्रो आएको थियो ।’

हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र महेन्द्र राजमार्ग विस्तारलगायतका महत्वपूर्ण आयोजनाहरु तोकिएको समयावधिभन्दा अगावै सम्पन्न गरिसक्ने उनले जनाए ।

Advertisement

Advertisement

Advertisement