पहिरोले ५ घण्टादेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग सुचारु

Advertisement

काठमाडौं । बिहीबार बिहानबाट अवरुद्ध धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वी राजमार्ग दोहोरो रुपमा सुचारु भएको छ । माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । प्रहरीका अनुसार बिहानबाट अवरुद्ध सडक ९ वटा स्काभेटरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासीले ५ घण्टापछि खुलाएका हुन् ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको थियो । लेदोमा केही सवारीसाधन समेत फँसेका थिए।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेर अवरुद्ध भएको पृथ्वी राजमार्ग अहिले करिब साढे ९ बजेबाट दोहोरो रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो । राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग बिहान २ बजेदेखि अवरुद्ध भएको बैरेनीबजारका व्यवसायीले बताए ।

सडक छेउमा बालुवा धुने मेसिन प्रयोगले सडक माथिबाट आएको लेदो राजमार्गमा जमेकाले यसलाई व्यवस्थापन गर्नुपर्ने भएको हो । सडक अवरुद्ध भएपछि यसलाई हटाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमर्गमा डोजर लगाएका हुन् । सडक अवरुद्ध भएपछि १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएका थिए । रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको लाम थियो ।

सडक अवरुद्ध भएपछि १५ किलोमिटरसम्मको राजमार्गमा करिब ७-८ सय यातायातका साधन रोकिएका थिए । सडक खुलेसँगै पहिरोले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

Advertisement

Advertisement

Advertisement