कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

Advertisement

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गत जेठ महिनामा लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ ।  परीक्षाको नतिजा ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।

परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ । कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थी छनोट गर्ने कोटा निर्धारण गरेको छ ।

भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् । रोजगारीका लागि एक सम्भावित व्यक्ति भए पनि कोरियाका रोजगारदाताको छनोटमा पर्नेले मात्र रोजगारीको अवसर प्राप्त गर्नेछन् ।

पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ । यही माध्यमबाट कोरिया पुगेका हजारौं नेपाली अहिले कोरियामा कार्यरत छन् ।

 

Advertisement

Advertisement

Advertisement