आइफोनका ‘डिजाइन गुरु’ ले एप्पल कम्पनी छाड्ने , आफैँ नयाँ कम्पनी खोल्ने

Advertisement

वाशिङटन । एप्पल कम्पनीलाई अहिलेको अवस्थामा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलका बेलायती नागरिक सर जोनी आइभले कम्पनी छाड्ने भएका छन् । दुई दशक काम गरेका उनले सो कम्पनी छोडेर आफ्नै नयाँ कम्पनी खोल्ने भएका छन् । आइभले नै म्याक, आइपोड र आइफोनको डिजाइन गरेका हुन् । उनले यसै वर्षको अन्त्यमा लभ फ्रम नामको नयाँ कम्पनी शुरु गर्ने भएका छन् ।

यो परिवर्तनलाई उनले प्राकृतिक कुरा भएको जनाएका छन् । एप्पलका प्रमुख टिम कुकले एप्पललाई पुनस्र्थापित गर्न उनको भूमिकालाई बिर्सन नसकिने जनाएका छन् । आइभले टेक क्षेत्रको महत्वपूर्ण कम्पनी एप्पलमा व्यापक रुपमा परिवर्तन हुन लागेको बेलामा सो कम्पनी छोड्न लागेका हुन् । रिटेल प्रमुख एन्जेला एह्रेन्ट्सले गएको अप्रिल महिनामा जागिर छोडेकी थिइन् र लगानीकर्ताहरुले आइफोनको बिक्री घट्न सक्ने भनेर चिन्ता व्यक्त गरेका थिए ।

आइभले एक वक्तव्यमा झण्डै ३० वर्षपछि र असंख्य परियोजनापछि आफ्नो काम छोड्न गइरहेको जनाएका छन् ।

उनको नयाँ कम्पनीको बारेमा विस्तृत रुपमा नबताइएपनि सो कम्पनीको मुख्यालय क्यालिफोर्नियामा हुने जनाइएको छ । सो कम्पनीमा आइभले मार्क न्यूसनलाई पनि समावेश गर्नेछन् । उनी एप्पलमा नै काम गर्थे । नयाँ कम्पनीमा धेरै सिर्जनशीलहरुलाई सहभागी गराइने समेत उनले जनाएका छन् ।

आइफोन इतिहासमै सबैभन्दा फाइदाको उत्पादन भएको छ । आइभ सन् १९९६मा एप्पलको डिजाइन स्टुडियोको प्रमुख भएका थिए ।

त्यतिबेला सो कम्पनी आर्थिक रुपमा अप्ठेरो अवस्थामा थियो । यसले त्यतिबेला कर्मचारीको कटौती समेत गरेको थियो । तर, आइभले आइ म्याकलाई जब डिजाइन गरे त्यसपछि एप्पल उकालो लाग्न थाल्यो । र, आइपोडले सन् २००१ मा त्यस्तै उचाइ लियो । अन्य महत्वपूर्ण औद्योगिक डिजाइन २००४ मा आइपोड मिनी, २००७ मा आइफोन,२००८ मा म्याकबुक एयर, २०१० मा आइप्याड, २०१५ मा आइवाच, २०१६ मा एयर पोड्स जस्ता डिजाइन कोही भन्दा कोही कम भएनन् ।

एप्पलका संस्थापक स्वर्गीय स्टेभ जब्सले भनेका थिए, ‘‘यदि एप्पलमा कोही मेरो भावनात्मक साझेदार छन्् भने उनी जोनी आइभ हुन् ।’’

आइभको अहिलेको पछिल्लो परियोजना भनेको एप्पलको नयाँ कर्पोरेट हेडक्वार्टर र एप्पल पार्क थिए । अत्यधुनिक कम्प्लेक्सको रुपमा डिजाइन गरिएको हेडक्वार्टर बेलायती आर्किटेक्स फोस्टर प्लस पाटनर्ससँगको साझेदारीमा बनाइएको हो । आइभको संलग्नतामा आएको पहिलो उत्पादन आइम्याकले त्यतिबेलाको बजारमा तहल्का मच्चाएको थियो ।

त्यतिबेलाको पीसी मार्केटमा कम्प्युटर पनि सुन्दर डिजाइन भएको वस्तु हुन्छ भन्ने मानिसहरुले महसुस गर्ने वातावरण उनैले बनाएका थिए । आइपोड, आइफोन र आइप्याडका उत्पादनलाई अघि बढाउँदै लगियो र तिनै उत्पादनको अहिले अरु कम्पनीले नक्कल गर्ने प्रयास गरिरहेका छन् । एप्पलका संस्थापक स्टेभ जब्सको मृत्युपछि त्यतिबेला जोनी आइभ एप्पलको प्रमुख कार्यकारीको कुर्सीमा पुग्ने चर्चापनि चलेको थियो । उनी सो कम्पनीको डिजाइन गुरुका रुपमा रहेकाले त्यस्तो अनुमान गरिए पनि त्यसो भने हुन सकेन ।

आफ्नो करियरको शुरुमा आइभले शौचालय र टुथब्रसको डिजाइन गरेका थिए ।

तर, अन्तिममा उनी आइफोन जस्तो इतिहासमै सबैभन्दा फाइदा कमाएको उत्पादनको डिजाइनरका रुपमा भने विश्वले सम्झिने मान्छे भएका छन् । (बीबीसीमा आधारित)

Advertisement

Advertisement

Advertisement