नेपाल टेलिकमले दृष्टिविहीनलाई सिमकार्डसहित एन्ड्रोइड स्मार्टफोन वितरण गर्यो

Advertisement

काठमाडौं । नेपाल टेलिकमले शुक्रबार सुनसरीमा दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले सिमकार्डसहित एन्ड्रोइड स्मार्टफोन वितरण गरेको छ ।

‘आइसिटी फर द स्टुडेनट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रममार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्नेकार्यक्रम अनुसार मोबाइलसेट वितरण गरेको टेलिकमले बताएको छ ।

सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टिसम्बन्धी अपाङ्गता भएका बाह्र र स्नातक तह अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराएको हो ।

कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उपप्रबन्धक ज्ञानेश दङ्गालले मोबाइल सेट हस्तान्तरण गरेका छन् । उक्त अवसरमा दङ्गालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीहरुको पढाइमा सहयोग पुर्‍याउनुका साथै सहज जीवनयापनमा भूमिका निर्वाह गर्ने अपेक्षासहित विद्यार्थीहरुले ब्रान्ड एम्बेसडरको रुपमा रहेर कम्पनीको सेवाको बारेमा जानकारी प्रवाह गर्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले सरकारको लगानी र राष्ट्रियताले ओतप्रोत कम्पनीको तर्फबाट गरिएको सानो सहयोगले दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका लागि सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्ने मैत्री समाज नेपालका अध्यक्ष प्रमेन्द्र ढकालले दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुलाई नेपाल टेलिकमले सूचना प्रविधिमार्फत एउटा अवसरको सिर्जना गरिदिएको बताए ।

मोबाइल प्राप्त गर्ने महेन्द्र बहूमुखी क्याम्पस धरानमा शिक्षा सङ्कायतर्फ स्नातक चौथो वर्षका विद्यार्थी पदम ठटालले विभिन्न सेवासहितको मोबाइल प्राप्त गरेपछि एमपी थ्री बोक्नुपर्ने वाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले हौसला मिलेको बताए ।

यो कार्यक्रमअन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्डसहित एन्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गरिएको टेलिकमले जानकारी दिएको छ ।

विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफरअन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको छ ।

Advertisement

Advertisement

Advertisement