लोकतन्त्रमाथिको प्रहार नरोके सरकार ढालिदिने देउवाको चेतावनी

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन् । राजधानीमा स्थानीय तह कर्मचारी युनियनको शुक्रबारबाट सुरु प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकार अघि बढिरहेको भन्दै प्रजातान्त्रिक पद्धतिमाथी निरन्तर आक्रमण भए सरकार कांग्रेसले नै ढाल्दिने बताए ।

सभापति देउवाले भने, ‘लोकतन्त्रका लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन ।’

कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीनिकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे । त्यस अवसरमा उहाँले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतह स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाईडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई दबाब दिए । उनले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण देश संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न पनि सरकारलाई सचेत गराए ।

Advertisement

Advertisement

Advertisement