अर्थमन्त्री खतिवडाले भने- पुस्तकको ज्ञानमाथि नभई नाफामाथि कर लगाउन खोजिएको हो

Advertisement

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले पुस्तकमाथिको कर प्रस्ताव जायज भएको बताएका छन्। प्रतिनिधिसभामा जारी आर्थिक विधेयक २०७५ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खतिवडाले ज्ञानमाथि नभइ नाफामाथि कर लगाउन खोजिएको बताए।

यो ज्ञानको कर होइन। ज्ञानको माध्यममा व्यापार गरेर कसैले अस्वभाविक नाफा कमाउँछ भने त्यो माध्यममाथि लगाइएको कर हो, खतिवडाले भने, हामी कुनै पुस्तक किन्न जाँदा ३५ प्रतिशतसम्म छुट दिइन्छ। मुनाफा भित्रैबाट त छुट दिइएको होला, घाटा खाएर दिइएको त होइन होला । ज्ञानको माध्यमको व्यापार गरेर मुनाफा कमाउनेले राज्यलाई कर तिर्न अप्ठ्यारो मान्न नहुने उनले बताए।

यहाँ युनेस्कोको कुरा पनि उठ्यो, मन्त्री खतिवडाले भने, यो कर युनेस्को र विश्व व्यापार संगठनको सीमाअनुरूप नै छ। करको दर १० प्रतिशत कटाइएको छैन। खतिवडाले नेपालको मुद्रण उद्योगलाई राहत दिन पनि यो कर उपयुक्त भएको बताए।

यो व्यवसायका दुईवटा आयाम छन्। एकथरीले बाहिरबाट पुस्तक छापेर ल्याँउछन्, त्यसो गर्दा भन्सार लाग्दैन, नेपालमा बेच्छन्, नाफा कमाउँछन्, उनले भने, अर्का नेपालकै मुद्रण उद्योग छ, जसले कागजदेखि मसीसम्म सबैमा कर तिर्छ। नेपालमा भएका सात हजार छापाखाना जसमा झण्डै एक खर्बको लगानी छ, उनीहरुले निस्शुल्क पुस्तक ल्याउनेहरूसँग प्रतिस्पर्धा गर्नुपरिरहेको खतिवडाको तर्क छ।

Advertisement

Advertisement

Advertisement