आफ्ना सन्तानसरह बिरुवा संरक्षण गरौंः ओली (वृक्षरोपण दिवसको फोटोफिचरसहित)

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वृक्षरोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा शनिबार ‘कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपण शुभारम्भ’ गर्दै उनले भने, “हामीले रोपेका बिरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनुपर्दछ । अबको प्रतिस्पर्धा बिरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।”

ओलीले आफ्ना सन्तानसरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरे । सोही अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोपेका थिए । सरकारले यस वर्षदेखि असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसका रुपमा मनाउने भएको छ । उनले वृक्षरोपण दिवस सरकारको मात्र नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको बताए ।

उनले भने, “यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो, हाम्रा पूर्खाले बिरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यवहारबाटै थाहा पाएर बिरुवाको संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रमा वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनुपर्ने बताए । आउने आर्थिक वर्षमा बढीमा पाँच करोड बिरुवा रोप्ने सरकारको लक्ष्य रहेको उनले जानकारी दिए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक, सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन गर्नका लागि बिरुवा रोपिएको बताए । उनले शहरको र्सौन्दर्य र धुलोधुवाँ, प्रदूषणलाई नियन्त्रण गर्न सडक किनारामा रोपिएका बिरुवाले सहयोग पुर्याउने बताए ।

बस्नेतका अनुसार अझै पनि ३१७ स्थानीय तह वनरहित रहेकाले ती स्थानीय तहलाई यसै आर्थिक वर्षमा हराभरा बनाइने बताए । सरकारले उक्त दिवसका अवसरमा कोटेश्वरदेखि कलङ्कीसम्म आजदेखि वृक्षरोपणको शुरुवात गरेको छ । आगामी आर्थिक वर्षसम्म करीब दुई हजार ७०० बिरुवा रोपिने वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक राजेन्द्र केसीले जानकारी दिए । उनले रोपिएका बिरुवा महानगरपालिका, वडा कार्यालय र आफ्नो घर अगाडि रहेका बिरुवालाई सम्बन्धित स्थानीयवासीले संरक्षण गर्ने बताए ।

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रीले समेत बिरुवा रोपेका थिए । कोटेश्वर–कलङ्की सडकखण्डमा जिन्को वाइलोवा, असारे फूल, जाकारण्डा, कल्की, तेजपात, कपुर, राजवृक्ष, पैँयुलगायत बिरुवा रोपिने विभागका उपमहानिर्देशक केसीले जानकारी दिए ।

[caption id="attachment_126157" align="alignnone" width="900"] प्रधानमन्त्री केपी ओली राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा शनिबार कोटेश्वर–कलङकी सडकखण्डमा वृक्षरोपण शुभारम्भ गर्दै । तस्बिरः रासस[/caption]

[caption id="attachment_126158" align="alignnone" width="900"] हनुमन्ते सफाई अभियानको ७०औँ हप्ताको अवसरमा शनिबार भक्तपुरको दक्षिण बाराही वन क्षेत्रमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बिरुवा रोप्दै सभामुख कृष्णबहादुर महरा । तस्बिरः रासस[/caption]

[caption id="attachment_126159" align="alignnone" width="900"] राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा शनिबार गृहमन्त्री रामबहादुर थापा कोटेश्वर–कलङकी सडकखण्डअन्तर्गत कोटेश्वरमा वृक्षरोपण शुभारम्भपछि बिरुवामा पानी हाल्दै । तस्बिरः रासस[/caption]

[caption id="attachment_126160" align="alignnone" width="900"] कोटेश्वर–कलङकी सडकखण्डमा राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा शनिबार वृक्षरोपण शुभारम्भपछि बिरुवामा पानी हाल्दै वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी । तस्बिरः रासस[/caption]

[caption id="attachment_126161" align="aligncenter" width="900"] तनहुँको वृक्षरोपण[/caption]

Advertisement

Advertisement

Advertisement