मदन भण्डारी हत्याकाण्डको दोषी पत्ता नलाग्नुमा सरकार र पार्टीकै कमजोरीः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको रहस्यमय हत्याकाण्डको दोषी पत्ता नलाग्नुमा सरकार र पार्टीकै कमजोरी रहेको औँल्याएका छन् । हत्यारा पत्ता लाग्दा अर्को कुनै त्यस्तै दुर्घटनाको खतरा दोहोरिने भएका कारण त्यस्तो स्थिति देखिएको हुन सक्ने उनको भनाइ छ । मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘मदनको हत्या भयानक डिजाइनअन्तर्गत भएको हो भन्ने हामी सबैलाई लागेको छ, तर हामीले आजको मितिसम्म हत्यारो फलानो नै हो या यो यो संलग्न थिए भन्ने प्रमाणसाथ किटेर भन्न सकेका छैनौ, हामीलाई विदेशी शक्ति हो कि, देशभित्रको तत्व यो हो कि, त्यो हो भन्ने लाग्छ, तर नाम लिएर भन्ने स्थिति छैन,’ प्रचण्डले भने, ‘फेरि त्यस्तो घटना दोहोरिँदैंन भन्ने सुनिश्चितता गर्न सकेका छैनौं । अर्कोतिर फेरि त्यस्तो नदोहोरियोस् भनेर छाला जोगाउनेतिरै लाग्ने खतरा पैदा भएको छ । किनभने दोषी पत्ता लगाएर जनताबीच ल्याउँदा हामीले छाला जोगाउनु पर्दैन, होइन ? भन्ने प्रश्न त्यहाँनेर उठ्छ ।’

कोतपर्व, भण्डारखाल पर्व, दरबार हत्याकाण्डजस्ता राजनीतिक तहमा उच्चस्तरको भयानक हत्याकाण्ड मच्चिँदै आएको दृष्टान्त प्रस्तुत गर्दै प्रचण्डले आफैँ पहिलोपटक प्रधानमन्त्री भएका बेला प्रतिबद्धता जनाएर पनि दरबार हत्याकाण्ड बाहिर ल्याउन नसकेको भन्दै आफैँमाथि प्रश्नसमेत गरे । ‘पहिलोपटक प्रधानमन्त्री हुँदा नारायणहिटीअगाडि उभिएर हत्यारा पत्ता लगाउँछु भन्दा पनि सकिएन, मलाई कहिलेकाहीँ अनौठो लाग्छ, केले दिएन हामीलाई ? जनताले नदिएको त पक्कै होइन,’ उनले भने, ‘फेरि हामीले सरकारको नेतृत्व गरेका छौं, तर हामी भन्न सक्ने ठाउँमा कहीँ न कहीँ छैनौँ । बरु यसलाई त्यसै–त्यसै ढिला हुन दिऊँ, त्यसै ठीक हुन्छ भने जस्तो अवस्था हाम्रो छ ।’

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement