सहकारीद्वारा व्यावसायिक रुपमा टिमुर खेती

Advertisement

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवागाँउमा ६० रोपनी जमीनमा व्यावसायिक रुपमा टिम्मुर खेती शुरु गरिएको छ । स्थानीय नेत्रज्योति सहकारी संस्थाको १४ लाख लगानीमा सल्यान जिल्लाबाट पाँच हजार विरुवा झिकाई सहकारी संस्थामार्फत टिम्मसर खेती शुरु गरिएको संस्थाको अध्यक्ष नेत्रबहादुर बस्नेतले बताए ।

शेयर सदस्यहरुको बाँझो जमीनलाई सहकारीले जिम्मा लिई उत्पादनयोग्य बनाएको छ । तत्पश्चात टिम्मुर फलेपछि रेखदेख र संरक्षणलगायत सहकारीले गरेका सबै लगानी उठेपछि त्यसबाट प्राप्त मुनाफासमेत सम्बन्धित जग्गा धनीलाई दिइने कार्यक्रम रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

बिरुवा रोपेको दुई÷तीन वर्षमा उत्पादन दिने उक्त टिम्मुरको प्रति बिरुवा ७० देखि ९० मा खरीद गरिएको हो । गाउँघरमा उत्पादित टिम्मुरको दानालाई दलालहरुले किसानसँग सस्तोमा खरिद गरी राजधानीमा लगेर महङ्गो मूल्यमा बिक्री गर्दै आएका छन् । त्यहाँ रोपिएका बिरुवाबाट उत्पादन दिन थालेपछि थोक मूल्य प्रतिकिलो ५०० मा बिक्री गरेपनि फाइदाजनक नै हुने सहकारीको धारणा छ ।

परापूर्वकालदेखि नै टिम्मुरलाई बहुउपयोगी र गुणकारी मानिँदै आएको छ । विशेषगरी आयुर्वेदमा औषधिको रुपमा प्रयोग गरीने हुँदा पेट दुखेमा र ढुस्सिएमा टिम्मुरको दानालाई पानीमा उमालेर खाएमा आराम हुने गाउँघरमा हालसम्म प्रचलनमा छ ।

गोलभेंडाको अचारमा टिम्मुरको दाना मिसाउँदा तिख्खर र स्वादिष्ट हुन्छ । त्यसको काँडा तीखो हुने हुँदा धानको बोटमा बेर्ना नामक रोगले पात खाएमा हाँगा काटेर किसानहरुले हिर्काउने गर्दछन् । पातभित्र लुकेर बसेको किरा मर्ने र रोग नियन्त्रण हुने पुरानो चलन गाउँघरमा कायमै छ । टिम्मुरको पात र काँडालाई मकैको कुनिउँ लगाउँदा बीचबीचमा राखेमा मुसा र कीराबाट सुरक्षित हुने मान्यता पनि अझै छ ।

Advertisement

Advertisement

Advertisement