नेप्सेको अनलाइन ट्रेडिङमा थोरैको मात्रै रुची, प्रणालीमा अब समस्या नरहेको नेप्सेको दावी

Advertisement

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले अनलाइन प्रणाली चाहियो भनेर माग्नेहरुले नै यो सेवा प्रयाग नगरेको भन्दै असन्तुष्टि जनाएको छ । अनलाइन प्रणालीको प्रगतिबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा साउदले अनलाइन प्रणालीले चाहियो भनेर ठूलो स्वरमा कराउनेहरु कहाँ छन् ? भन्दै यो प्रणालीमा सक्दो धेरै आवद्ध हुनु जरुरी रहेको बताए ।

साउदले भने, ‘यहि हलमा अनलाइन प्रणाली आजै चाहियो भन्दै कराउँदै राजिनामा माग्न आएका थिए, हिजोआज उनीहरुको नाक मुख देख्या छैन, मैले भिडियो पनि हेरेको थिएँ, त्यतिबेला कराउनेहरुसँग एकजनासँग १० कित्ता शेयर पनि नभएको पत्ता लगाएको छु ।’

साउनले अब अनलाइन ट्रेडिङमा कुनै पनि समस्या नरहेको भन्दै नेप्सेभन्दा बाहिरको मोड्युलमा समस्या आउँदा नेप्सेको प्रणालीमा समस्या आयो भनेर गलत प्रचार गर्ने काम भएको बताए । अनलाइन ट्रेडिङको सम्पूर्ण काम सकिएको भन्दै उनले बैंक इन्टिग्रेसनको दोस्रो चरण पनि कार्यन्वयनमा आएसंगै सम्पूर्ण काम सकिएको बताए ।

नेप्सेका अनुसार हालसम्म ११ हजार २४६ लगानीकर्ताले अनलाइन ट्रेडिङको लागि आईडी पासवर्ड लिएका छन् । दोस्रो बजारमा कारोबार गर्न सक्नेगरी दुई लाख ९४ हजार विवरण अद्यावधिक गरेका छन् । चालु आर्थिक बर्षमा भएको ७७ अर्ब ७४ करोड कारोबारमध्ये अनलाइनबाट १० अर्ब ६० करोड मात्रै कारोबार भएको नेप्सेले जनाएको छ ।

अनलाइन प्रणाली सुरू भएपछि लगानीकर्ताको आकर्षण बढ्ने अपेक्षा गरिए पनि कारोबारको समयमा बिभिन्न समस्याका कारणले खासै लगानीकर्तामा आकर्षण देखिन सकेको छैन । प्रणालीबारे लगानीकर्ता धेरै अभ्यस्त नहुँदा र प्रणालीमा समस्या पनि पटक पटक आउँदा धेरै लगानीकर्ताले अनलाइन ट्रेडिङको आइडी र पासवर्ड लिन सकेका छैनन् ।

नेप्सेको अनलाइन प्रणलीमा डाटा डिस्प्ले, युनिक क्लाइन्ट कोड, पुरानो लगानीकर्ताको केवाइसी अपडेट, डिएनए लग इन, नयाँ सूचीकरण भएका कम्पनीको पहिलो दिनको कारोबार, सिडिएससीसँग प्रणाली इन्ट्रिग्रेसन, प्रणाली सञ्चालनमा ब्रोकरको अभ्यस्तता ब्रोकरको प्रणालीमा फ्लोरसिट डिस्प्ले जस्ता कुराहरूमा समस्या देखिदै आएको थियो ।

नेप्सेले हाल डाटा डिस्प्लेको समस्या सामाधन गरी रियल टाइम डाटा डिस्प्ले गराउने गरेको जनाएको छ भने फ्लोरसिट लगायतका अन्य समस्याहरू पनि सामाधान भएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement