काङ्ग्रेससँग मिलेर चुनाव जितेका बाबुराम भन्छन्- काङ्ग्रेसबाट अग्रगमन र दिगो विकास हुन्न

Advertisement

पोखरा । समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना पार्टीहरुबाट देशको अग्रगमनको नेतृत्व सम्भव नभएको बताएका छन् । सङ्घीय समाजवादी फोरम र नयाँशक्ति पार्टी नेपालको प्रदेश समिति समायोजन घोषणा कार्यक्रम मंगलबार पोखरामा उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस लगायतका पार्टीबाट देशको अग्रगमन, सुशासन र दिगो विकास नहुने भएकाले समुन्नत र सङ्घीय समाजवादको वैचारिक आधारमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा समाजवादी पार्टी गठन गरिएको बताए ।

फोरम र नयाँ शक्तिबीचको एकता केवल पार्टी एकता मात्र नभएको भन्दै भट्टराईले भने, “हामीहरुबीचको एकता पार्टी एकता मात्र होइन, सम्पूर्ण लोकतन्त्र, अग्रगति, शान्ति, समावेशीता, समाजवाद र धर्मनिरपेक्षताको मान्यताप्रति प्रतिबद्ध जनतालाई सङ्गठित गरेर देशलाई आगामी ५० वर्षसम्म नेतृत्व गर्ने र विश्वसामु नेपाललाई समुन्नत रुपमा लैजाने गरी एकताको प्रस्थान विन्दु हो ।”

पार्टीका उपाध्यक्ष हेमराज राईले बहुजातीय र बहुभाषिक चरित्र भएको देशमा पहिचानका आधारमा राज्यको पुनः संरचना हुनुपर्ने बताए । कार्यक्रममा समाजवादी पार्टीको ५३ सदस्यीय गण्डकी प्रदेश कमिटी घोषणा गरिएको थियो । पार्टीको प्रदेश समितिको अध्यक्षमा मोति रिजाल, उपाध्यक्षमा दीपक तामाङ, गुणाखर बस्याल, हेमबहादुर थापा, रमेश पोखरेल र काशीमाया गुरुङ छन् ।

Advertisement

Advertisement

Advertisement