ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’को शुभारम्भ

Advertisement

काठमाडौं । राजधानीको प्रमुख पर्यटकी गन्तव्यको रुपमा रहेको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’को शुभारम्भ गरिएको छ । पर्यटन विभाग र काठमाडौं महानगरपालिका २६ को सहयोग तथा पर्यटक प्रहरी भृकुटीमण्डपको सक्रियतामा निर्माण भएको सूचना केन्द्रको बुधबार पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले शुभारम्भ गरेका हुन् ।

‘पर्यटन प्रहरी मोबाईल एप’को पनि शुभारम्भ गरिएको छ । कोबाईल एपको शुभारम्भ महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव निरिक्षक शैलेश थापा क्षेत्रीले गरेका थिए । कार्याक्रममा महानिर्देशक घिमिरेले पर्यटकमाथि ठमेल क्षेत्रमा हुने अपराधमा पर्यटक प्रहरीको सक्रियताका कारण कमी आएको बताए । ‘ठमेल क्षेत्रमा सिसिटीभीलाई व्यवस्थितरूपमा सञ्चालन गर्न पर्यटन विभागले सहयोग गर्नेछ’, उनले भने। ठमेल क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि पर्यटक विभागले सहयोग गर्ने उनको भनाई थियो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख क्षेत्रीले प्रविधिमैत्री प्रहरी अहिलेको आवश्यकता रहेको बताए । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन पर्यटकको सुरक्षा आवश्यक रहेको भन्दै सुरक्षा दिन नेपाल प्रहरी दृढ रहेको बताए । ‘नेपाल प्रहरी समुदायसँग सहकार्य गरेर उपत्यकाको सुरक्षा दिन दृढ छ, यसका लागि पर्यटन व्यवसायीको समेत गहन जिम्मेवारी आवश्यक छ’, उनले भने ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले ठमेलभित्र अस्तव्यस्तरूपमा रहेको तारले ठमेललाई कुरुप बनाउँदै लगेको भन्दै उक्त तार हटाउन महानगरपालिका लाग्ने बताए । महानगरीय पर्यटन सूचना केन्द्रको शुभारम्भसँगै ठमेलमा आउने पर्यटकलाई सहज हुने उनको भनाइ थियो ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोलले पर्यटकको सुरक्षामा पर्यटक प्रहरीको महत्व अझ बढेर गएको बताए । नेपाल घुम्न आउने अधिकांश पर्यटक ठमेल भित्रिने भएकाले पर्यटकको सुरक्षाका लागि उक्त केन्द्र स्थापना गरिएको पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।

नयाँ स्थापना भएको केन्द्रमा सहायता कक्ष, सिसिटीभी निगरानी, सेवाप्रवाहलगायतका सेवा प्रदान गरिने पर्यटक प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement