झण्डै छ अर्ब लागतमा लम्जुङमा स्मार्ट फिल्म सिटी निर्माण हुने, सिटीबाट १४ वटा हिमाल हेर्न सकिने

Advertisement

काठमाडौं । नेपालको पहिलो स्मार्ट फिल्म सिटी लम्जुङमा निर्माण गरिने भएको छ । लम्जुङको बेसीसहर नगरपालिकामा पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण हुने फिल्म सिटीको लागत अनुमान पाँच अर्ब ९० करोड रहेको छ ।

स्काई इन्टरटेन्मेन्ट इन्भेस्कमेन्ट प्रालि र नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ (एसआरएल) इटालीबीच ‘वर्ल्ड स्काई सिनेभिलेज नेपाल’ निर्माणको लागि सम्झौता भएको छ । नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्टका सञ्चालक तथा नेपाल चलचित्र उत्पादन संघका अध्यक्ष आकाश अधिकारी र इटालियन नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ एसआरएल कम्पनीका प्रमुख फ्रानसिस्को सिग्रिरियल्लोले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा पनि सहभागी थिए । उनले फिल्म सिटी निर्माणमा समस्या आउन नदिने भन्दै यसले नेपालको फिल्म उद्योगको विकासमा सहयोग पुग्ने बताए । उनले फिल्म क्षेत्रमा धेरै विकास गर्ने मन हुँदाहुँदै पनि धन र प्रविधिको कारण नेपाल पछि परेको भन्दै लम्जुङमा निर्माण हुने सिनेसिटी पाँच बर्षभित्र सम्पन्न भएपछि यसले नेपालको फिल्म क्षेत्रलाई माथि उठाउन निकै सहयोग पुर्याउने बताए ।

चलचित्र उत्पादन संघका अध्यक्ष तथा स्काई इन्टरटेन्मेन्टका सञ्चालक आकाश अधिकारीले फिल्म सिटीसँगै सिनेमा अध्ययनका लागि विद्यालयको पनि स्थापना गर्ने आफूहरुको योजना रहेको बताए । उनले फिल्म सिटीमा जुनसुकै किसिमका सिनेमाहरुको छायाकंन गर्न सकिने भन्दै अन्य देशमा छायांकनका लागि निर्धारित मूल्यभन्दा कम मूल्यमा संचालन गर्ने योजना रहेको छ ।

नेपाली सिनेमा क्षेत्रका निर्देशक तथा कलाकार निर शाहले राष्ट्रिय चलचित्र उद्योगको विकासका लागि कसरी अगाडी बढ्नु पर्छ ? भन्ने कुरा मनन् गर्दै अगाडी बढ्नु पर्ने बताए । उनले फिल्म सिटी निर्माणका विषयमा आगामी दिनमा नकारात्मक कुरा भन्दा पनि सकारात्मक विषयको चर्चा परिचर्चा सुन्ने अवसर सिर्जना गराउन निर्माण समूहलाई सुझाव दिए ।

बेसीसहर नगरपालिकाका अध्यक्ष गोमानसिंह अर्यालले बेसीसहर नगरपालिकाको वडा ३, ४, ५, ९ मा हुने फिल्म सिटी निर्माणका विषयमा स्थानीयस्तरको साथ र समर्थन रहने बताए । उनले उक्त ठाँउबाट १४ वटा भन्दा बढी हिमालहरु नजिकबाट अवलोकन गर्न सकिनुका साथै ऐतिहासिक तथा धार्मिक सम्पदाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश प्रवाह हुने बताए ।

नेपालमा पहिलो पटक निर्माण हुने स्मार्ट फिल्म सिटी दुई हजार ६० मिटरदेखि २८ सयससम्मको उचाईमा निर्माण भई विश्वकै उच्च स्थानको फिल्म सिटी हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement