सुडान घोटाला प्रकरणः पूर्वआइजीपी ठकुरीले गरे अदालतसमक्ष आत्मसमर्पण

Advertisement

काठमाडौं । बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेलगत्तै फरार रहेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) रमेशचन्द्र ठकुरीले सर्वोच्च अदातलमा आत्मसमर्पण गरेका छन् । उनी आफ्नो निवेदन लिएर सर्वोच्च पुगेको सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका हुन् ।

दुई वर्षअघि नै तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले ठकुरीलाई सुडानको डार्फरमा खटिने नेपाली मिसनको लागि सामग्री खरिदमा घोटाला गरेको ठहर गरेको थियो । चन्दलाई सर्वोच्चले १ बर्ष कैद र ४० हजार रुपियाँ जरिबाना सुनाएको थियो ।

यस्तै पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक दीपक श्रेष्ठ लगायतलाई पनि सर्वोच्चले दोषी ठहर गरेको थियो । सुडान मिसनमा प्रहरी कल्याणकोषबाट खर्च गरिएको ४५ करोड ४२ लाखमध्ये करिब २९ करोड घोटाला भएको र त्यो रकम पूर्व आइजिपी रमेश ठकुरीको कार्यकालमा भुक्तानी भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते २८ करोड ८१ लाख रुपियाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले तीन पूर्वप्रहरी प्रमुखसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका तत्कालिन अध्यक्ष गौरीबहादुर कार्की लगायतको टोलीको फैसलाले एपीसी प्रकरणमा जोडिएका ठेकेदार र तीन पूर्व प्रहरी प्रमुखबाट एक अर्ब १४ करोड रुपियाँ असुल्नुपर्ने ठहर गरेको थियो । तर, विशेषको फैसलामाथि पुनरावेदनको माग गर्दै प्रहरी अधिकृतहरु सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले विशेष अदालतमा मुद्दा दायर भएको चार वर्षपछि अन्तिम फैसला गरेको थियो । फैसला भएको दुई वर्षसम्म ठकुरी फरार रहेका थिए ।

Advertisement

Advertisement

Advertisement