आईफा विवादः संसदिय समितिलाई बास्कोटाको सुझाव– हल्लाको भरमा निर्देशन नदेउ, अध्ययन गर

Advertisement

काठमाडौं । सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदीय समितिले हल्ला चलेको भरमा आईफा अवार्ड रोक भनेर निर्देशन दिँदा आफूलाई आश्चर्य लागेको बताएका छन् । मन्त्रिपरिषदको सोमबारको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले संसदीय समितिको निर्णयप्रति असन्ख्तुष्टि पोखे ।

आईफा अवार्ड सरकारले पैसा दिएर आयोजना गर्न लागेको होईन, यसलाई सरकारले सैद्धान्तिक स्वीकृति मात्रै दिएको हो भन्दै बास्कोटाले यो अवार्ड वितरणको कुरा विजनेशको कुरा भएको बताए । यस विषयमा होहल्लाको भरमा समितिले जे पायो त्यही भाषा प्रयोग गरेर निर्देशन दिने काम भएको बताए ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको थियो । जे पायो त्यही भाषा प्रयोग गरेर संसदीय समितिले निर्देशन दिनु राम्रो होइन भन्दै यस्ता विषयमा समितिले गहिरो अध्ययन गरेर मात्रै निर्देशन दिनु राम्रो हुने सल्लाह दिए ।

बास्कोटाले प्रश्न गरे, ‘आईफामा के भएको थियो र यस्तो निर्देशन आयो ? संसदीय समितिले दिने निर्देशन विषयको गहिराईमा पुगेर दिनु पर्छ, होहल्ला भरमा भाषा जे पायो त्यही गरेर निर्देशन दिनु राम्रो हुँदैन।’ उनले आईफा अवार्डका लागि सरकारले पैसा दिने कुनै निर्णय नगरेको स्पष्ट पारे ।

विश्वका विभिन्न २० वटा भन्दा बढि देशहरुमा आयोजना भइसकेको आईफा अवार्ड नेपालमा पनि आयोजना गरौं भन्ने प्रस्ताव आएपछि त्यसका मोडालिटीका विषयमा सरकार छलफल गर्न तयार भएको बताउँदै यत्तिकैमा संसदीय समितिले हतारिएर आकाश खसेजसरी, धर्ती नै भासिए जसरी निर्देशन दिनु जरुरी थिएन् भने ।

Advertisement

Advertisement

Advertisement