पर्यटकको आकर्षण बन्दै चिया बगान, दैनिक सयौँ आन्तरिक पर्यटकको घुईचो

Advertisement

काठमाडौं । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको क्व्होलासोथर गाउँपालिकाभित्र लगाइएको चिया खेती पर्यटकको मुख्य आकर्षण बन्न थालेको छ । गाउँपालिकाभित्रका घलेगाउँ, भुजुङ, पसगाउँमा लगाइएको चियाबगानमा दैनिक सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् ।

चिया बगानको सुन्दर दृश्य हेर्दा निकै रमाइलो लाग्ने काठमाडौँबाट घलेगाउँ आएका पर्यटक अनिल महर्जनले बताए । उनले भने, “यो चिया बगानले म लगायतसँगै आएको साथीहरुको समेत मन तानेको छ । महर्जन लगायत  आएका जो कोहीको पनि यस चिया बगान आकर्षणको केन्द्र बन्ने गरेको छ ।

इलामको चिया बगानको झल्को दिने यस चिया बगान हेर्नकै लागि समेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय कृषक भुजुङकी मीनकुमारी गुरुङले बताए ।

घलेगाउँका स्थानीय दीर्घराज घलेका अनुसार दैनिक १०० देखि ३०० सम्म आन्तरिक पर्यटक चिया बगान पुग्ने गर्दछन् । पर्यटकको आकर्षण चिया बगान बन्न थालेपछि गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा लिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए। “पहिला  प्रकृति, संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारी हेर्न पनि आउन थालेका छन्”, उनले भने”, “ स्थानीयलाई चिया बगानले आर्थिक समृद्धितर्फ अघि बढाएको छ ।” चियाखेती हेर्न पर्यटकको ओइरो लागिरहेको घलेगाउँ चियाखेतीका अध्यक्ष यमप्रसाद घलेले भने ।

समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको चिया बगान ७५० रोपनीमा लगाइए पनि पाँच सय रोपनी क्षेत्रफलमा राम्रो चियाखेती भइरहेको एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पहिलोपटक परीक्षणका रूपमा २०५५ सालमा चियाखेती गरेको थियो ।

अहिले घलेगाउँमा २०० रोपनी, भुजुङमा ४०० रोपनी र पसगाउँमा १५० रोपनी क्षेत्रफल जमीनमा चियाखेती गरिरहेको उनले जानकारी दिए। विसं २०५५ बाटै चियाखेतीको शुरुआत गरिए पनि जनयुद्धका कारण चियाखेती फष्टाउन नसकेको र पछि मुलुकमा शान्ति स्थापना भएपछि व्यावसायिकरुपमा चियाखेती गरिएको एक्याप कार्यालय प्रमुख गुप्ताको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement