अब सहकारीको पनि मर्ज गर्ने बेला आयोः अर्याल

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा सुशासनका निम्ति एकीकरण अपरिहार्य भएको बताएकी छन् । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार उनले सुशासन, उत्पादन बृद्धि, कृषिको रुपान्तरणका लागि सहकारीलाई एकीकरण गरेर मजबुद बनाउनुपर्ने बताइन् ।

यस बर्ष मर्यादित कामका लागि सहकारी भन्ने नाराका साथ ९७औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । अर्यालले उद्यमशीलता विकास र युवा तथा महिला सहभागीता बृद्धि गर्नका लागि सहकारीले जोड दिनुपर्ने बताइन् ।

युएनडीपीका आवासीय प्रतिनिधिले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीले महत्वपूर्ण योगदान दिने बताउँदै नेपालमा युएनडीपीले ५ सयभन्दा बढि सहकारी र विभिन्न मन्त्रालयसँग सहकार्य गरेर स्थानीय तहमा काम गरिरहेको बताइन् । उनले सहकारी अर्थतन्त्रको मुख्य आधार भएको बताउँदै सहकारीलाई महत्व दिएको नेपालको संविधानले विश्वका लागि उदाहरणीय रहेको बताइन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले मर्यादित काम सिर्जना गर्न सहकारीले युद्धस्तरमा काम गरेको र आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने दावी गरे । उनले सहकारी समाजिक व्यवसाय भएको बताए ।

योजना आयोगका सदस्य दिलबहादुर गुरुङले सहकारी नेपालको स्थानीय अर्थतन्त्रको मुल आधार र मेरुदण्ड रहेको बताए । उनले १५ औं योजनाको अवधारणपत्रमा समृद्ध नेपाल सुखी नेपालीका लागि मापन गर्ने आधार समेत तयार गरिएको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मर्यादित समाज निर्माण गर्नका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रत्यक्ष रुपमा सदस्य आफै समस्या समाधानकर्ता रहेको बताए ।

नेपालमा हाल करिब ३५ हजार सहकारी संघ संस्था रहेका छन् भने ६३ लाख जनसख्यां यो अभियानमा जोडिएको सहकारीका अगुवाहरुको भनाई छ । सहकारीले ६० हजारलाई रोजगारी दिएको, कुल महिला जनसख्याको २३ प्रतिशत महिला सहकारीमा आवद्ध रहेको उनीहरुले तथ्यांक प्रस्तुत गर्दै आएका छन् ।

सहकारी पुरस्कृत
अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले सातै प्रदेशका उत्कृष्ट सहकारी संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट प्रदेश १ मा झापाको शुभलक्ष्मी सकारी संस्था, प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरियो ।

प्रदेश ३ बाट ललितपुरको श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था, गण्डकी प्रदेशबाट बाग्लुङको आदर्श संचार सहकारी संस्था पुरस्कृत भए भने प्रदेश ५ बाट रुपन्देही सामुहिक विकास साकोस, कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था र सुदूरपश्चिम प्रदेशबाट कैलालीका किसान बहुउद्देश्यीय सहकारी संस्थालाई नगद २० हजार पुरस्कार सहित सम्मान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement