गैरआवासीय नेपालीको एसिया प्रशान्त क्षेत्रीय बैठक म्यानमारमा सुरु

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय बैठक म्यानमारको यान्गोनमा शनिबारबाट सुरु भएको छ । नेपालको समृध्दिका लागि गैरआवासीय नेपालीहरुको भूमिका विषयमा केन्द्रित हुने जनाइएको बैठक दुई दिनसम्म चल्ने छ ।

बैठकको औपचारिक उद्धाटन आज आइतबार हुने भए पनि शनिबार एसिया क्षेत्रका राष्ट्रिय समन्वय परिषदको प्रतिवेदनको प्रस्तुति र महिला तथा युवासँग सम्बन्धित कार्यक्रम सम्पन्न भएको संघको केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा भाग लिन काँग्रेस नेता प्रकाशशरण महत, साँसद सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्ष भवन भट्ट म्यानमार पुगेका छन् । बैठकमा मुलत प्रवासमा रहेका नेपाली समुदायको क्रियाकलाप नेपाली समुदायले भोग्ने गरेका समस्या र नेपालको कला संस्कृति तथा भाषा प्रवर्धनका कामहरुबारेमा छलफल भएको जनाइएको छ ।

सयौं वर्षको इतिहास बोकेको म्यानमारको नेपाली समुदायले नेपालीहरुको संस्कृति बचाएर राख्न सकेको कुराको सबैले प्रशंसा गरेका थिए । खासगरी थाइल्याण्ड र म्यानमारमा धेरै पहिलेदेखि नेपालीहरुको बसोवास रहेकाले अन्यमुलुकका नेपालीको भन्दा फरक मुद्दाहरु समेत भएकाले ती विषयमा संघ र सरकारको समेत फरक चासो हुनुपर्ने धारणा बैठकमा उठेको संघको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले नेपाली आमाबाट जन्मेका सबैले नेपाली नागरिकताको अधिकार पाउनुपर्ने भन्दै दोस्रो तेस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली अभियानमा सक्रिय गराउनु पर्ने धारणा राखेका थिए ।

क्षेत्रीय बैठकमा एसिया क्षेत्रका जापान, चीन, मकाउ, मलेसिया, थाइल्याण्ड, हङकङ, दक्षिण कोरिया र आयोजक राष्ट्र म्यानमारको सहभागिता रहेको छ भने अन्य क्षेत्र अमेरिका, युरोप, मध्यपूर्व र ओसिनियाको समेत प्रतिनिधित्व रहेको छ । करिब तीन सयको सहभागिता
रहेको बैठकको आइतबारको छलफलमा नेपालको समृध्दि सम्बन्धी छलफल गरी निर्णय लिइने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement