उदयपुर सिमेन्ट उद्योग एक महिनादेखि बन्द, दैनिक ७५ लाख घाटा

Advertisement

उदयपुर । नेपालकै सबैभन्दा ठुलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा एक महिनायता क्लिंकर उत्पादन बन्द हुँदा दैनिक ७५ लाख रुपियाँ घाटा भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण हाइटेन्सन मार्टरमा क्षति पुगेपछि उत्पादन बन्द भएको हो ।

विद्युतको भोल्टेजमा आएको समस्याका कारण मोटर सञ्चालन बन्द हुन पुगेकाले त्यसको मर्मत र विद्युत् व्यवस्थापन नभएसम्म उद्योग बन्द रहने उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले जानकारी दिए ।

जेठ २० गतेदेखि क्लिंकर उत्पादन नहुँदा उद्योगलाई अहिलेसम्म झन्डै २२ करोड ५० लाख रुपियाँको उत्पादन घाटा भएको साहले बताएका छन् । उनले भने, ‘बिग्रिएको मोर्टर मर्मतका लागि बुटवलस्थित नेपाल इन्जिनियरङ एन्ड हाइड्रो वर्कसपमा लगिए पनि त्यसको मर्मत भइसकेको छैन । मर्मत भएपछि यही २५ असारभित्र जडान गरी किलंकर उत्पादन सुरु गर्नेछौँ ।’

चालू आर्थिक वर्षको अहिलेसम्म उद्योगले २२ लाख बोरा सिमेन्ट बिक्री गरिसकेको छ । उद्योगका निमित्त महाप्रबन्धक साहले भने, ‘अझै एक लाख बोरा सिमेन्ट मौज्दात छ । उद्योगले चालू आवमा एक लाख ३२ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्यमा पुग्नै लाग्दा हाइटेन्सन मोर्टरमा क्षति पुगेपछि उत्पादन बन्द भएको हो ।

‘मोर्टरमा क्षति नपुगेको भए आर्थिक वर्षको अन्तसम्म १ लाख ४२ हजार टन क्लिंकर उत्पादन हुने थियो । यो भनेको लक्ष्यभन्दा १० हजार टन बढी हुने थियो,’ साहले भने । मोर्टर बिग्रिएकाले लक्ष्यभन्दा बढी र १५ वर्षयताकै सबैभन्दा बढी क्लिंकर उत्पादन गर्ने लक्ष्य पूरा हुन नसकेको उनले बताए । अहिले दैनिक १० हजारदेखि १२ हजार बोरासम्म बिक्री भइरहेको छ । महाप्रबन्धक साहले भने ‘क्लिंकर उत्पादन बन्द भए पनि भकारीमा क्लिंकर मौज्दात रहेकाले बिक्री रोकिएको छैन ।’ मोर्टर तत्काल मर्मत र जडानका लागि ताकेता भइरहेको र २५ गतेभित्र जडान भइसक्ने उनले बताए ।

उद्योगले दैनिक ७५० देखि ८ सय टन सिमेन्ट उत्पादन भर्दै आएको थियो । २०४४ सालमा स्थापना भएको उद्योगले सुरुका वर्षमा जापान सरकारबाट सञ्चालन हुँदा आठ सय टनसम्म सिमेन्ट उत्पान गरेको थियो । त्यसपछि वर्षहरूमा विद्युत् अभाव तथा कटौतीका कारण दैनिक छ सयदेखि छ सय ५० टन मात्र सिमेन्ट उत्पादन गर्दै आएकामा गत वर्ष पुराना पार्टपुर्जाको मर्मत गरेपछि उत्पादन बढेर सात सय ५० देखि आठ सय टन पुगेको थियो ।

Advertisement

Advertisement

Advertisement