गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा काँग्रेसपक्षधर हावी, अध्यक्षमा केशव कँडेल

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको शनिबार सम्पन्न निर्वाचनमा काँग्रेसनिकटहरु हावी भएका छन् । अधिकांश स्थानमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट उम्मेदवारहरुलाई हराउँदै नेपाली काँग्रेसनिकटहरुले बाजी मार्न सफल भएका हुन् ।

एनआरएनए अष्ट्रेलियाको कार्यसमितिमा दुई पदबाहेक नेतृत्वसहित बाँकी सबै लोकतान्त्रिक पक्षधरले जित्न सफल भएका छन् भने अष्ट्रेलियाका आठ राज्यमध्ये तीनमा वामपन्थी पक्षधर र पाँचमा लोकतान्त्रिक पक्षधरले चुनाव जित्न सफल भएको छ ।

मुलुकमा भन्दा बढि बाहिर रहेका गैरआवासीय नेपाली संघसहितका संघसंस्थाहरुमा राजनीतिको गहिरो प्रभाव देखिन्छ । निर्वाचन कमिटिका अनुसार एनआएनए अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल बिजयी भएका छन् । उनले नेकपानिकट दिनेश पोखरेललाई ३९१ मतअन्तरले हराउन सफल भएका हु्न । कँडेलले चार हजार १४८ मत ल्याउँदा पोखरेलले तीन हजार ७५७ मत ल्याए । यस पटकबाट प्रयोगमा ल्याइएको ‘नो भोट’को अप्शनमा ४६१ जनाले आफ्नो मत जाहेर गरेका छन् ।

त्यस्तै, महासचिवमा ज्ञानेन्द्र रेग्मी, सचिवमा उषाकिरण बरिया, कोषाध्यक्षमा अनिल पोखरेल, सहकोषाध्यक्षमा लक्ष्मण गोपाली, युवा संयोजकमा इरशद अहमद निर्वाचित भएका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यमा राजु अधिकारी, अरुण ठाकुर, नारायण काफ्ले, सन्तोष कुँवर, छविराज सापकोटा, अशोक केसी चयन भएका छन् । महासचिवमा ७३७ जनाले ‘नो भोट’ मत जाहेर गरे भने सचिवमा ८०३, कोषाध्यक्षमा ८४९ जनाले नो भोटमा मत जाहेर गरे ।

Advertisement

Advertisement

Advertisement