सुविधा सम्पन्न होटल खुल्नेक्रम बढ्दो, व्यवसायीलाई लगानी डुब्ने चिन्ता

Advertisement

काठमाडौं । पर्यटन व्यवसायलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा ठूला सुविधा सम्पन्न होटल खुल्नेक्रम बढ्दै गएको छ ।

नेपालगञ्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल र डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँच तारेसहितका सुविधा सम्पन्न होटल खुल्नेक्रम बढेको होटल व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले बताए ।

झण्डै एक दशकयता नेपालगञ्जमा पाँचतारे, चारतारे र तीनतारेसहित दर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, सिटी प्यालेस र किचन होटललगायत सुविधा सम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएको उनले बताए । अध्यक्ष काफ्लेका अनुसार एक दशकयता नेपालगञ्जमा ठूला होटल व्यवसायमा झण्डै पाँच अर्ब लगानी भएको छ ।

साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा राष्ट्रिय, अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको नेपालगञ्जका ठूला होटल व्यवसायीलाई राज्यको नयाँ शासकीय संरचनाले भने झस्काएको छ । सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश नं ५ र यसको राजधानी बुटवल हुनुले नेपालगञ्जमा ठूलास्तरका कार्यक्रम नहँुदा लगानी डुब्ने चिन्ताले होटल व्यवसायीलाई पिरोल्न थालेको छ ।

पुरानो संरचना हुँदासम्म होटल भरिभराउ हुन्थे, नयाँ संरचनापछि त प्रायःहोटलका कोठा खाली हुने गरेका छन् । सरकारी तथा गैरसरकारी निकायका कार्यक्रमले भरथेग हुने अवस्था पनि अब रहेन”, नेपालगञ्जस्थित होटल इन्द्रेणीका सञ्चालक घनश्याम थापाले बताए ।

अर्कोतर्फ, नयाँ सुविधा सम्पन्न होटल थपिँदै गएपछि सञ्चालनमा रहेका पुराना होटललाई भने व्यवस्थापन खर्च धान्न नै मुस्किल परेको अवस्था छ । “अन्य व्यापारबाट कमाएको धन होटल व्यवसायमा लगानी गर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण नेपालगञ्जको होटल व्यवसाय कतै धरापमा पर्ने त होइन भन्ने चिन्ता बढाएको छ”, होटल व्यवसायी सङ्घ प्रदेश ५ का अध्यक्ष काफ्लेको भनाइ छ ।

उनका अनुसार, नेपालगञ्जका ठूला सुविधा सम्पन्न होटलको मुख्य स्रोत मानिएको मानसरोवरका अधिकांश भारतीय तीर्थयात्री ट्राभल एजेन्सीमार्फत आउने र ट्राभल एजेन्सीले उधारोमा व्यापार गर्दा अपेक्षितरुपमा लाभान्वित हुन नसकेको अवस्था पनि छ । यो वर्ष मानसरोवरका तीर्थयात्री घटेकाले ठूला होटल व्यवसायी दोहोरो मारमा परेको अध्यक्ष काफ्लेले बताए ।

मानसरोवरका तीर्थयात्रीबाहेक बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली क्षेत्रको रारा र शे–फोक्सुण्डो ताल, प्यूठानको स्वर्गद्वारी लगायतका पर्यटकीय क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटक यदाकता आउने भएकाले होटल व्यवसायीलाई केही राहत मिलेको व्यवसायीको भनाइ छ ।

गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताए । शहरी विकास तथा भवन निर्माण कार्यालयले आज नेपालगञ्जमा गरेको अन्तक्र्रिया कार्यक्रममा उनले भने, “भौतिक पूर्वाधार निर्माणमा वातावरण विनाश हुन नदिने वा त्यसको न्यूनीकरणको प्रयास गर्नेतर्पm सरकार सचेत रहेको छ ।”

“नेपालगञ्जमा सडक, नाला निर्माणका क्रममा गल्ती भएको छ, गल्ती को कोबाट भयो, त्यसलाई सच्याउने जिम्मा पनि उसैले लिनुपर्छ”, मन्त्री राईले भन्नुभयो । उनले शहरी विकास मन्त्रालयले नेपालगञ्जमा १० हजार रुख बिरुवा रोप्ने तयारी गरिरहेको उल्लेख गर्दै यसका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरिने धारणा व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement