‘सरकार डराए पनि जनता नडराऔं, केही समय महंगै भए पनि स्वदेशी खाएर बिषादीयुक्त तरकारी त्यागौं’

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले भारतीय तरकारीको विषादी परीक्षणबाट पछि हट्ने सरकारको निर्णयको चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा थापाले भारतीय तरकारी तथा फलफुल आयात गर्दा विषादी परीक्षण गर्ने कुराबाट पछि हट्ने सरकारी निर्णय आपत्तिजनक भएको बताए।

उनले तरकारी तथा फलफुलको विषादी परीक्षण गर्ने निर्णयलाई केही समय महंगो तरकारी खाएर होस वा तिउन विनाको भोजन गरेर साथ दिन आमजनता तयार भएको तर राष्ट्रवादी सरकार भारतको दबाबले थला परेको बताए ।
यस्तो छ गगनको सम्बोधनः

सरकारले आयात हुने कृषिजन्य वस्तुको अनिवार्य विषादी परीक्षण हुनुपर्ने निर्णय लागु गर्यो। आवश्यक तयारीविना काम सुरु गरेकोले अप्ठेरो र झन्झटिलो त हुने नै भयो। तर पनि काम सहि भएकाले केही समय महंगो तरकारी खाएर होस वा तिउन विनाको भोजन गरेर होस् सरकारको कामलाई सहयोग गर्न तयार भएकै थियौं।

हाम्रो यस्तो साथ पाएपछि लागेको थियो, आफ्नो निर्णयमा सरकार अडिरहनेछ। विलम्ब नगरी नाकामा भन्सार पूर्वाधार बनाउने छ र ठोकेर भन्ने छ मेरो देशमा विषादी परीक्षण नगरी तरकारी फलफुल भित्रिन दिइने छैन।

अझ जनताको यस्तो साथ पाएपछि पारिबाट वारि आउने फलफुल तरकारीसँगै वारिबाट पारि जाने चिया र अलैँचीको पनि हिसाब किताब हुनेछ भनेर गर्जेर भन्ला भन्ठानेको त पारितिरबाट आएको खोकीको मन्द आवाजले थला नै पो पर्यो हाम्रो सरकार।

प्रधानमन्त्रीको बोलीको मान राख्न मास्क नलगाई विषाक्त हावा सेवन गरेकै थियौं, अब सरकारको निर्णयको मान राख्न परीक्षण विनाको तरकारी र फलफुल पनि खाइदिउला।

बस् १ प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईको राष्ट्रवादी खुट्टा देखिइसकिएकै हो। घुँडामा भ्वाङ कत्रो परेको छ ? बताइदिनुहुन्छ की।

Advertisement

Advertisement

Advertisement